काठमाडौँ, असोज ।
नेपालीहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहलसहित चाप बढेको हो ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये ४१ हजार ९४६ जना महिला र ६७ हजार ६९० जना पुरुष रहेका छन् ।
दसैँ मनाउन घर फर्किने क्रमसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्दै गएको उनले बताए । दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका प्रमुख नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ ।
विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारी साधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ ।
यी नाकामा दसैँका लागि घर फर्किने यात्रुको चाप बढ्दै गएपछि सवारीसाधनको आवागमन व्यवस्थापनमा ट्राफिक प्रहरीले विशेष ध्यान दिएको छ ।
दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी पर्व मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने चुनौती पनि थपिएको छ ।
दसैँ, तिहारलगायत चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताए ।
उनका अनुसार यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको छ । यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ । हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो”, उनले भने ।
चाडपर्वका समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य तथा सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने तथा यात्रु र सवारी चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना कम गर्न सकिने उनको भनाइ छ ।
यातायात व्यवस्था विभागका अनुसार हाल नागढुङ्गा–नौबिसे सडकखण्ड, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ र बिपी राजमार्गलगायतका प्रमुख सडकमा दुवैतर्फ यातायात सञ्चालन भइरहेको छ ।
दसैँ मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेका बेला मुख्य सडकमा यातायात सञ्चालन भइरहेकाले यात्रुलाई आफ्नो गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ ।
यद्यपि, मुख्य नाकामा सवारीसाधनको चाप बढ्दा यात्रा समय लम्बिन सक्ने भएकाले यात्रुले यात्राको योजना बनाउँदा पर्याप्त समय छुट्याउनु उपयुक्त हुने नेपाल यातायात राष्ट्रिय व्ययसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बताए ।
उनले भने, “दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाबाट बाहिरिने सडक तथा सार्वजनिक यातायातमा थप चाप पर्ने देखिएको छ ।
यस्तो अवस्थामा ट्राफिक नियमको पालना, सुरक्षित गति र यात्रु क्षमताअनुसार सवारी साधन सञ्चालन भइरहेको छ ।”
दसैँ नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक आफ्नो घर फर्किने गर्छन् ।
उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेसँगै राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको जनाइएको छ । रासस