सिड्नी, असोज । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।
दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका छन् । यससँगै प्रहरीमाथि आक्रमणका घटनामा लगातार वृद्धि भएको यो १२औँ अवधि बनेको छ ।
यसैबिच, लुटपाटका घटनामा १३ प्रतिशतले कमी आएको छ । अघिल्लो १२ महिनामा ५०१ वटा रहेका लुटपाटका घटना घटेर ४३८ मा झरेका छन् । यसअघि पनि लुटपाटका घटनामा १६ प्रतिशतले कमी आएको थियो । हत्या तथा हत्यासम्बन्धी अपराध २१ प्रतिशतले घटेको छ ।
यस्ता घटना ५३ बाट घटेर ४२ मा पुगेका छन् । खुद्रा पसल तथा व्यापारिक प्रतिष्ठानबाट हुने चोरीका घटनामा पनि तीन प्रतिशतले कमी आएको छ । यस्ता घटना २१ हजार ७५७ मा झरेका छन् । तर, आवासीय घरमा हुने चोरीका घटनामा भने वृद्धि भएको छ । घरमा अनधिकृत प्रवेश गरी चोरी गर्ने घटना ५ हजार ५८४ बाट बढेर ५ हजार ९४७ पुगेका छन्।
गैरआवासीय भवन तथा परिसरमा हुने चोरीका घटना पनि ३ हजार ३९१ बाट बढेर ३ हजार ५१३ पुगेका छन् । यौनजन्य अपराधका घटनामा समेत सामान्य वृद्धि देखिएको छ । यस्ता घटना २ हजार ७०४ बाट बढेर २ हजार ७१८ पुगेका छन् । दक्षिण अस्ट्रेलिया प्रहरीका सहायक आयुक्त डेभिड ओ’डोनोभानले दोहोर्याएर अपराध गर्ने व्यक्तिहरूमाथि लक्षित प्रहरी कारबाहीका कारण लुटपाटका घटनामा निरन्तर कमी आएको बताउनुभयो ।
त्यस्ता व्यक्तिलाई हिरासतमा राख्ने व्यवस्था मिलाउनुका साथै कडा धरौटी सर्त लागू गर्ने कार्यले अपराध नियन्त्रणमा सहयोग पुगेको उहाँको भनाइ छ । लुटपाटबाट पीडित व्यक्तिले भोग्नुपरेको मानसिक तथा भावनात्मक आघातप्रति प्रहरी सचेत रहेको उल्लेख गर्दै उहाँले यस्ता अपराध न्यूनीकरणका लागि आगामी दिनमा पनि निरन्तर काम गरिने बताउनुभएको छ । रासस/सिन्ह्वा