काठमाडौँ, असोज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको प्रत्यक्ष खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना मङ्गलबारदेखि शुरूहुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा असोज २६ गते जारी आधिकारिक सूचना अनुसार प्रत्यक्ष खुलातर्फका केन्द्रीय सदस्य (मतपत्र नं. ४) पदको मतगणना असोज २७ गते (मङ्गलबार) बिहान ८ :०० बजेदेखि शुरू गरिनेछ।
मतगणना ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा सञ्चालन हुने समितिले जनाएको छ।
महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत असोज २३ गते बेलुका ९ः०० बजेदेखि शुरू भएको मतगणनाका क्रममा पदाधिकारीसहित विभिन्न कोटाका पदहरूको गणना जारी रहेकै अवस्थामा खुला केन्द्रीय सदस्य पदको मतगणनाको कार्यतालिका सार्वजनिक गरिएको हो।
यसैबीच मतगणना प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन निर्वाचन समितिले उम्मेदवारका प्रतिनिधिको व्यवस्थासम्बन्धी नियम पुनः स्पष्ट पारेको छ।
जसअनुसार केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको हकमा मतगणनास्थलमा उम्मेदवार स्वयं बाहेक अन्य कुनै पनि प्रतिनिधि राख्न पाइने छैन।
उम्मेदवार आफैँ उपस्थित भएर मतगणना अवलोकन गर्नुपर्ने व्यवस्था समितिले गरेको छ। आइतबार साँझदेखि सहमहामन्त्रीहरू खुला, सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (महिला) को गणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।