काठमाडौं, असोज ।
नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शशांक कोइरालाले आफूहरूले तय गरेको महाधिवेशनले पार्टीलाई एकजुट बनाउने दाबी गरेका छन्।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले आगामी मंसिरमा तय भएको महाधिवेशन अत्यन्त महत्त्वपूर्ण रहेको बताएका हुन्।
उक्त महाधिवेशनले पार्टीलाई एकजुट बनाउने र आगामी चुनावमा एकताबद्ध भएर उभिन बल पुर्याउने उनको भनाइ छ।
कोइरालाले कांग्रेस अहिले पनि बलियो अवस्थामा रहेकाले अन्य सबै शक्ति मिले पनि यसलाई हराउन र कमजोर पार्न नसक्ने धारणा राखे।
कांग्रेसले सत्ताको दुरुपयोग नगर्ने र गर्न पनि नदिने कोइरालाको जिकिर छ।
राजनीति समयसँगै परिवर्तन हुँदै गए पनि विचार र स्पष्टता सधैँ कायम रहनुपर्ने भन्दै उनले आफ्नो सही बाटो कहिल्यै नछाड्न कार्यकर्तालाई आग्रह गरे।