२०८३, आश्विन २१ गते

बुधवार, आश्विन २१ गते २०८३

देशमा पश्चिमी र मनसुनी वायुको प्रभाव: साधारणतया बदली रहने

मंगलवार , आश्विन २०, २०८३

काठमाडौँ,असोज । मुलुकमा पश्चिमी वायु र मनसुनी वायुको दोहोरो प्रभावका कारण आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू-भागका साथै गण्डकी र लुम्बिनीका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको असर रहेको छ भने कोशी, मधेस, बागमतीसहित बाँकी भू-भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै कोशी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश, कोशीको तराई र कर्णालीको हिमाली भू-भागमा भने आंशिक बदली रहनेछ।

यस अवधिमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कर्णालीको हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपात र देशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको आकलन गरिएको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बादल लाग्ने पूर्वानुमान छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

यसै गरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार