काठमाडौं, असोज ।
नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गर्ने कोशिश भइरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा काठमाडौं महानगर अधिवेशन उद्घाटन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर र विभाजित अदृश्य शक्ति सक्रिय रहेको भन्दै उनीहरूको स्वार्थ पूरा हुन नदिने दावी गरे ।
उनले कांग्रेसको इतिहास,विधान र स्थापित परम्परा विपरीत कसैले पनि कार्य गर्न नहुनेमा जोड दिए।
गल्ती गर्नेहरूलाई ढाकछोप गर्ने वा झन् प्रोत्साहन गर्ने परिपाटी गलत भएको भन्दै उनले बेथिति र गल्तीलाई सच्चायाएर सही बाटोमा ल्याउनुपर्ने आवश्यकता रहेको धारणा राखे।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियम अनुसार नै आवश्यक निर्णयहरू गर्दै अगाडि बढ्ने उनले बताए ।
उनले लोकतान्त्रिक पार्टीमा मतभेद र भिन्न विचार हुनु स्वाभाविक भए तापनि,अदृश्य शक्तिको इसारामा पार्टीको नियम विधि उल्लङ्घन गरेर मनपरी गर्नु अलोकतान्त्रिक व्यवहार भएको तर्क गरे।
नेता सिंहले संस्थापक नेताहरूले देखाएको निष्ठा,सिद्धान्त र आदर्शको बाटोमा रहेर वर्तमान चुनौतीहरूलाई हिम्मतका साथ समाधान गर्दै अघि बढ्ने बताए।