काठमाडौँ, असोज ।
पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले राति ११ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुनेभएको छ ।
धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) जारी गरेको सूचनामा गजुरी गाउँपालिका- ५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको उल्लेख छ ।
गत असोज २३ गते शुक्रबार सडक भासिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो ।
असोज २४ गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मतसम्भार गर्नुपर्ने भन्दै आज राती बन्द गर्न लागिएको हो । दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खडा भएको बताउँछन् ।
दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्, यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ, उनले भने ।
दसैँ मनाउनका लागि असोज १७ गतेदेखि २५ गतेसम्म काठमाडौँस्थित राष्ट्रिय बसपार्क नयाँबसपार्कबाट दुई लाख सात हजार २५१ यात्रु बाहिरिएका छन् ।
नयाँ बसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको राससलाई जानकारी दिए ।