काठमाडौं, मंसिर ।
पूर्णबहादुरको सारंगी फेम निर्देशक सरोज पौडेल निर्देशित नयाँ सिनेमा सिन्दुरे जात्राको ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले विहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरुको प्रेमले भोग्ने नियतिको कथा सिनेमाले बोल्ने देखाइएको छ ।
पिरियण ड्रामा जनारामा बनेको सिनेमाले तात्कालिन समयमा नेपाली समाजमा पुरुषको अहममा महिला कसरी पितृसत्ताको नियम र नतिजा भोग्न विवश थिए भन्ने कुरालाई सिनेमाले प्रस्तुत गर्ने बुझ्न सकिन्छ ।
ट्रेलरमा अभिनेता विनोद न्यौपानेको डिल्लीराम पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले बाबुराम र अञ्जना बराइलीले लक्ष्मीको भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।
पूर्णबहादुरको सारंगीबाट दर्शकमाझ स्थापित भएको विजय बराल र निर्देशक पौ
डेलको पुनः सहकार्यलाई पनि फिल्मको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ । यसपटक उनीहरूले फरक परिवेश र समयको कथा लिएर दर्शकमाझ आउने तयारी गरेका छन् ।
सिनेमा मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको यसअघि सार्वजनिक टिजर तथा गीतले दर्शकको मन जितिसकेको र पूर्णबहादुरको सारंगी फेम कलाकार र निर्देशकको दोश्रो टिमअपले दर्शकलाई नयाँ कथा प्रस्तुत गर्ने ट्रेलर स्पष्ट पारेको छ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् ।
सिन्दुरे जात्रामा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह-निर्माता, सुमन रञ्जित एसोसिएट निर्माता तथा अनिश अधिकारी लाइन निर्माता छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा पदमबहादुर श्रेष्ठ (बाबु) को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।
यसअघि सार्वजनिक टिजर र गीतबाट चर्चा बटुलेको सिन्दुरे जात्रा मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्दैछ भने बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।