काठमाडौं, मंसिर ।
मकवानपुरमा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। भीमफेदी गाउँपालिका–१ भैँसेमा सुमो खोलामा खस्दा तीन जनाको ज्यान गएको छ भने चुरियामाई र रातमाटेबीचको जङ्गल क्षेत्रमा ईभी गाडी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो।
बिहीबार बिहान करिब साढे ८ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको यात्रुवाहक सुमो हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा चन्द्रनिगाहपुर नगरपालिका–४ की २५ वर्षीया अनुसा लामा, सोही स्थानकी २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र चन्द्रनिगाहपुर–३ का ५० वर्षीय बमबहादुर वाइबाको मृत्यु भएको छ। सुमो दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
घाइते हुनेमा सुमो चालक चन्द्रनिगाहपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रनिगाहपुर–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छाध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान रानामगर रहेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरी हेटौँडा अस्पताल पठाएका घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यसैगरी, बिहीबार नै चुरियामाई र रातमाटेबीचको जङ्गल क्षेत्रमा वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ९८३६ नम्बरको ईभी गाडी र बागमती प्रदेश ०२–०३७ प ८५२८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। मकवानपुरमा पछिल्लो समय सवारी दुर्घटनाको दर बढ्दो छस गत कात्तिक २६ गते मात्रै भीमफेदीमै भएको अर्को सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो।