काठमाडौं, मंसिर ।
युक्रेनले रुसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपलाई रुससँग जोड्ने रणनीतिक महत्त्वको क्रिमिया पुलमा भीषण आक्रमण गरेको छ । युक्रेनी मिसाइल र ड्रोनको योजनाबद्ध आक्रमणबाट पुलको मुख्य सडक खण्डको विशाल आर्च भत्किएर समुद्रमा खसेको छ ।
करिब १२ माइल लामो उक्त पुल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिष्ठित परियोजनाका रूपमा चिनिँदै आएको थियो ।
सन् २०१८ मा पुटिन आफैँले ट्रक चलाएर उद्घाटन गरेको यो पुल रुसका लागि क्रिमियामाथिको नियन्त्रणको प्रतीकसमेत थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार यो आक्रमण सात चरणमा गरिएको थियो ।
आक्रमणअघि युक्रेनी सेनाले कैयौँ सातासम्म रुसका हवाई प्रतिरक्षा प्रणाली, राडार, इलेक्ट्रोनिक युद्ध प्रणाली तथा अन्य सैन्य संरचनालाई निशाना बनाएको थियो ।
त्यसपछि ड्रोन र विभिन्न प्रकारका लामो दूरीका मिसाइल प्रयोग गरी पुलमा अन्तिम प्रहार गरिएको उनले बताएका छन् । नोभेम्बर १६ को राति पनि पुलमा ड्रोन आक्रमण भएको थियो ।
त्यसको भोलिपल्ट नोभेम्बर १७ को बिहान गरिएको अन्तिम आक्रमणपछि पुलको सडक खण्डको करिब २०० मिटर भाग समुद्रमा खसेको बताइएको छ । पुलको अर्को रेलमार्ग खण्ड भने पूर्ण रूपमा भत्किएको छैन ।
आक्रमणपछि केही समय सडक तथा रेल यातायात बन्द गरिएको थियो भने पछि रेल सेवा पुनः सञ्चालन गरिएको थियो । यो पुल रुसका लागि सैन्य सामग्री, हतियार, इन्धन तथा सैनिक ओसारपसार गर्ने महत्त्वपूर्ण मार्ग हो ।
पुलमा भएको क्षतिले क्रिमियामा रहेका रुसी सैन्य संरचनाको आपूर्ति व्यवस्थामा गम्भीर असर पार्न सक्ने आकलन गरिएको छ ।
यद्यपि रुससँग अर्को स्थलमार्ग र समुद्री फेरीको विकल्प पनि छ । संरचनागत क्षति निकै गम्भीर रहेको विज्ञहरूले बताएका छन् । पुलको सडक यातायात पूर्ण रूपमा पुनः सञ्चालन गर्न एक वर्षभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ ।
यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुल पुनर्निर्माण गरिने र पहिलेभन्दा अझ राम्रो बनाइने बताएका छन् ।
सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि निर्माण गरिएको यो पुल मस्कोको शक्ति र क्रिमियामाथिको नियन्त्रणको प्रमुख प्रतीक मानिँदै आएको छ ।