काठमाडौं, मंसिर ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक रूपमा पहिलो पटक त्रिपक्षीय वार्ता सम्पन्न भएको छ।
बन्दकोठामा भएको छलफलसमेत समेटिएको उक्त बैठक विश्व राजनीतिमा अर्थपूर्ण मानिएको छ।
वार्ताको सुरुवातमा तीनै नेताले करिब १५ मिनेट सञ्चारकर्मी सामु आफ्ना धारणा राखेका थिए र त्यसपछि बन्दकोठामा छलफलमा जुटेका थिए।
उनीहरुबीच बैठक झन्डै डेढ घण्टा चलेर समाप्त भएको छ । सार्वजनिक मन्तव्यका क्रममा तीनै शीर्ष नेताले आणविक निःशस्त्रीकरण, विश्वव्यापी सुरक्षा र रुस- युक्रेन युद्धलगायतका समसामयिक विषयमा केन्द्रित रहेर आफ्ना भनाइ राखेका थिए।
वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले चीन, अमेरिका र रुसबीचको ' सकारात्मक अन्तरक्रिया' अब विकल्प मात्र नभई अनिवार्य आवश्यकता भएको बताए।
प्रमुख विश्व शक्तिहरूको जिम्मेवारीमाथि जोड दिँदै उनले विश्वव्यापी चुनौतीहरूको संयुक्त रूपमा सामना गर्न तथा अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व कायम राख्न तीनै देशले उदाहरण प्रस्तुत गर्नुपर्ने आग्रह गरे।
त्यसैगरी, अमेरिकी राष्ट्रपति ट्रम्पले आणविक भण्डार घटाउने र तिनको प्रयोगको जोखिम कम गर्ने विषयमा छलफल गर्न वासिङ्टन, मस्को र बेइजिङ ' विशेष स्थान' मा रहेको उल्लेख गरे।
स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को तथ्यांक अनुसार सन् २०२६ को जनवरी सम्ममा चीनसँग अनुमानित ६२० वटा आणविक हतियार रहेका छन् भने अमेरिका र रुससँग क्रमशः ५,०४२ र ५,४२० वटा यस्ता हतियार छन्।
अमेरिका र रुसको तुलनामा आफ्नो आणविक भण्डार निकै सानो रहेको तर्क गर्दै चीनले आणविक निःशस्त्रीकरणसम्बन्धी वार्तामा सहभागी हुन बारम्बार अस्वीकार गर्दै आएको छ।
रुसी राष्ट्रपति पुटिनले रचनात्मक सहकार्यमार्फत तीनै देशले विश्वव्यापी स्थायित्व सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने बताए।
साथै, उनले जारी रुस - युक्रेन युद्धलगायत क्षेत्रीय द्वन्द्व समाधानमा तीनै मुलुकको साझा स्वार्थ रहेकोमा जोड दिए।
बुधबारदेखि सेन्जेनमा सुरु भएको एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को दुईदिने शिखर सम्मेलनको अवसर पारेर तीन महाशक्ति राष्ट्रका प्रमुखहरूबीच यो भेटवार्ता भएको हो।चीनले आयोजना गरेको उक्त सम्मेलनमा २१ सदस्य अर्थतन्त्रका नेता तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।