२०८३, मंसिर ५ गते

शुक्रवार, मंसिर ५ गते २०८३

रेमिट्यान्सले तोड्यो पुरानो रेकर्ड : ' असोजमै साढे दुई खर्बमाथि '

बिहिवार , मंसिर ४, २०८३

 

काठमाडौं, मङ्सिर ।

नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै दुई खर्ब ६७ अर्ब ३४ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यो एक महिनामा भित्रिएको हालसम्मकै उच्च रेमिट्यान्स हो ।

 

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल सात खर्ब तीन अर्ब ७० करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोजमा दुई खर्ब एक अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस वर्ष असोजमा मात्रै गत वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स आप्रवाह उल्लेख्य बढेको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बृद्धि भई चार अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो बृद्धि २९.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय सातखर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय छ खर्ब १० अर्ब ६१ करोड रहेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने केही घटेको छ । चालु आर्थिक वर्षको असोजसम्म एक लाख २१ हजार ८७९ जनाले अन्तिम श्रम स्वीकृति लिनुभएको छ । गत वर्षको सोही अवधिमा यो संख्या एक लाख २३ हजार ४५९ थियो ।

त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या भने बढेर ८२ हजार ३६९ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७७ हजार २५७ जनाले पुनः श्रम स्वीकृति लिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार