काठमाडौं, साउन ।
चलचित्र 'पञ्चमी' को औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि पर्दापछाडि रहेर नेपाली सिनेमालाई नजिकबाट बुझेका सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । नेपाली चलचित्र क्षेत्रमा ' थ्रिलर' विधामा नयाँ आयाम थप्ने संकेत गर्दै चलचित्र 'पञ्चमी' को थिम पोस्टर सार्वजनिक औपचारिक घोषणा गरिएको हो ।
सौगातका लागि यो पहिलो निर्देशकीय प्रोजेक्ट भए पनि उनले दीपेन्द्र के. खनाललगायतका निर्देशकसँग चिफ एडी र कार्यकारी निर्माताको भूमिकामा काम गरिसकेका छन् ।
सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ' पञ्चमी' लेखिएको, माथि त्रिशूल र दुई नाग, शब्दलाई घेर्ने पाँचवटा घेरा, बाहिर नाग अंकित रहस्यमयी लकेट र सबैभन्दा माथि शुक्ल पक्षको अर्धचन्द्र ।
यी सबै संयोग नभई पात्रहरूसँग प्रत्यक्ष सम्बन्धित रहेको निर्देशकको भनाइ छ, जुन सिनेमा हेर्दा मात्र स्पष्ट हुनेछ । पोस्टरमा आई हेट हु एभर कमस् लेट' भन्ने लाइन छ, जसको सन्दर्भ अझै रहस्यमै छ । कुन सन्दर्भमा कसका लागि यो लाइन प्रयोग गरिएको हो भन्ने कुरा भने अझै रहस्यमै छ ।
यसबारे निर्देशक बस्नेतले भने, ‘टाइटलमा जसरी हामीले डिजाइन गरेका छौँ, यो अहिले हेर्दा केही क्लिष्ट भए पनि सिनेमा हेर्दा सरल र सहज देखिनेछ । सिनेमासँग यो सबै रिलेट भएर आउनेछ ।
त्यतिबेला यो थिमको जस्टिफाइ हुनेछ । यो एक साइकोलोजिकल मिस्ट्री थ्रिलर हुनेछ । पञ्चमी मौलिक कथा नभई एउटा उपन्यासको रूपान्तरण हो, तर निर्देशक बस्नेतले कुन उपन्यास र कुन लेखकको कृतिमा यो आधारित छ भन्ने कुरा अहिले खुलासा गरेका छैनन् ।
कलाकार, पटकथा लेखक वा प्राविधिक टिमबारे हाल केही जानकारी सार्वजनिक गरिएको छैन । आगामी दिनहरूमा बिस्तारै जानकारी सार्वजनिक हुँदै जाने र छिट्टै चलचित्रको झलक आउने निर्देशक बस्नेतले बताए ।
एकातिर रहस्यमयी पोस्टर र अर्कोतिर आफ्नो पहिलो निर्देशकीय प्रयासमै साइकोलोजिकल मिस्ट्री थ्रिलर जस्तो जोखिमपूर्ण विधा रोज्ने साहस । 'पञ्चमी' ले नेपाली चलचित्र उद्योगमा नयाँ किसिमको कुतूहल जन्माइदिएको छ ।
के हो त ' पञ्चमी' ? त्रिशूल, नाग, चन्द्रमा, पाँचवटा घेरा, र त्यो पुरानो टाइपराइटर , पोस्टरमा राखिएका ठ्याक्कै यी पाँचवटै तत्व के हुन् रु र किन ठ्याक्कै पाँचवटा मात्र ? के यिनको सङ्ख्यामै लुकेको छ शीर्षकको साँचो अर्थ ?