काठमाडौँ, मङ्सिर ।
ब्रेक्जिटपछि एक दशकदेखि कमजोर बनेको सम्बन्ध सुधार्न बेलायत र युरोपेली सङ्घ (इयु) व्यापार, युवा आदानप्रदान, आप्रवासन र सुरक्षासम्बन्धी सहकार्य विस्तार गर्न सहमत भएका छन् ।
शुक्रबार ब्रसेल्समा भएको दोस्रो इयु - बेलायत शिखर सम्मेलनमा प्रधानमन्त्री एन्डी बर्नह्याम, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले नयाँ सम्झौतामा सहमति जनाएका हुन ।
बर्नह्यामका अनुसार सम्झौताले बेलायतको कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव पाँच प्रतिशतसम्म योगदान पुयाउनुका साथै करिब १७ अर्ब पाउन्डको आर्थिक लाभ दिने अनुमान छ ।
सम्झौता अनुसार बेलायतले आगामी वर्षदेखि इरास्मस प्लस कार्यक्रममा पुनः सहभागिता जनाउनेछ । दुवै पक्षका एक–एक लाख युवालाई तीन वर्षसम्म काम, अध्ययन, स्वयंसेवा र भ्रमणको अवसर दिने युवा अनुभव योजना पनि अघि बढाइएको छ ।
यसबाट ३१ वर्षमुनिका युवाका अवसर विस्तार हुने नेताहरूको भनाइ छ । खाद्य तथा कृषि व्यापार सहज बनाउने, पशु तथा वनस्पतिजन्य उत्पादनको सीमा जाँच घटाउने र ऊर्जा तथा विद्युत् बजारमा सहकार्य बढाउने विषयमा पनि सहमति भएको छ ।
अनियमित आप्रवासन नियन्त्रणका लागि सूचना आदानप्रदान र संयुक्त कारबाही विस्तार गर्ने तथा रक्षा र सुरक्षा क्षेत्रमा समन्वय बढाउने निर्णयसमेत गरिएको छ ।
युरोपेली परिषद्का अध्यक्ष कोस्टाले रुसको आक्रमणविरुद्ध युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति कायम नभएसम्म सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
दुवै पक्षले गाजामा दुई राज्य समाधान र मानवीय सहायता प्रवाहको समर्थन गर्दै क्षेत्रीय समुद्री मार्गमा इरान र हुथी समूहका आक्रमणको निन्दा गरेका छन् ।
बर्नह्यामले ब्रेक्जिटपछिको दूरी र विभाजनको दशक’ अन्त्य गर्दै सम्बन्धका टुटेका पुल पुनः निर्माण गर्ने समय आएको बताए ।