२०८३, मंसिर ७ गते

आइतवार, मंसिर ७ गते २०८३

उपल्लो मुस्ताङ

हिमपात र अत्यधिक चिसो : ' घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थी बेसीमा '

शनिवार , मंसिर ६, २०८३

 

 

मुस्ताङ, मङ्सिर ।

उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् ।

लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक, संस्थागत तथा गुम्बा विद्यालयले गाउँपालिकाको समन्वयमा मङ्सिर १ गतेदेखि बेसीका विभिन्न स्थानमा घुम्ती कक्षा सञ्चालन गरेका हुन् ।

उपल्लो मुस्ताङमा हरेक वर्ष हिउँदयाममा अत्यधिक चिसो र हिमपात हुने भएकाले विद्यालयलाई अस्थायी रूपमा बेसी सार्ने गरिएको छ ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम गिरीका अनुसार हिउँदयाममा अत्यधिक चिसो र हिमपातका कारण विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा असर पर्ने भएकाले विद्यालयलाई बेसी सारिएको हो ।

चालु शैक्षिक सत्रको अन्त्यपछि गर्मीयाम सुरु हुँदा विद्यालय पुनः साविककै स्थानमा फर्कनेछन् । लोमान्थाङ गाउँपालिकाका लेखा अधिकृत उज्ज्वल चापागाईँका अनुसार गाउँपालिकाका तीन सामुदायिक र चार संस्थागत विद्यालय बेसी झरेका छन् ।

सामुदायिकतर्फ दिव्यदीप माध्यमिक विद्यालय, छोनुप झिन्जु आधारभूत विद्यालय र राष्ट्रिय आधारभूत विद्यालयले घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

त्यस्तै, मञ्जुश्री, निफुक नाम्डोल, पाल एण्ड नाम्ग्याल र महाकरुणा धार्मिक गुम्बा विद्यालय पनि बेसी झरेका छन् । दिव्यदीप माध्यमिक विद्यालयले पोखराको विजयपुर, छोनुप झिन्जु आधारभूत विद्यालयले हेमजा र राष्ट्रिय आधारभूत विद्यालयले तालबेसी किमबेसीमा घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

दिव्यदीप र छोनुप झिन्जु विद्यालयले आफ्नै भवनमा तथा राष्ट्रिय आधारभूत विद्यालयले भाडाको भवनमा कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

लोमान्थाङका सामुदायिक विद्यालयलाई घुम्ती कक्षा सञ्चालन गर्न सङ्घीय सरकारबाट सशर्त अनुदानस्वरूप प्रतिविद्यालय तीन लाख ५० हजार विनियोजन गरिएको छ ।

यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय पनि घुम्ती कक्षा सञ्चालन गर्न बेसी झरेका छन् ।

गाउँपालिकाका शिक्षा अधिकृत भीम नेपालीका अनुसार चराङ आधारभूत, घमी आधारभूत र जनज्योति माध्यमिक विद्यालयका १८८ विद्यार्थीलाई बेसी सारिएको छ । चराङ छोदे गुम्बा र आनी गुम्बा विद्यालयले पनि घुम्ती कक्षा सञ्चालन गरेका छन् ।

लोघेकरका चराङ आधारभूत विद्यालयले पोखराको हेमजा, घमी आधारभूत विद्यालयले विजयपुर र जनज्योति माध्यमिक विद्यालयले तनहुँको दुलेगौडामा भाडाका भवनमा कक्षा सञ्चालन गरेका छन् ।

घुम्ती कक्षा सञ्चालनका लागि गाउँपालिकाले सामुदायिक विद्यालयलाई २६ लाख बजेट विनियोजन गरेको शिक्षा अधिकृत नेपालीले जानकारी दिए ।

दुवै गाउँपालिकाबाट सामुदायिक विद्यालयका ३६५ विद्यार्थीलाई जाडो छल्न बेसी झारिएको छ । तीमध्ये लोमान्थाङका १७७ र लोघेकर दामोदरकुण्डका १८८ विद्यार्थी छन् । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार