जनकपुरधाम, मंसिर ।
मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी नेपाल -जसपा नेपाल) का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेश गर्न शुक्रबार ४ः०० बजेसम्मको समयसीमा दिइएको थियो।
उक्त निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यबाट बहुमतको दाबी पेश हुन नसकेपछि प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम बाराबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
संवैधानिक व्यवस्था अनुसार धारा १६८ को उपधारा -३) बमोजिम नियुक्त मुख्यमन्त्रीले नियुक्ति भएको मितिले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।