काठमाडौँ, कात्तिक।
दक्षिण-पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा-कराँची राजमार्गमा यात्रुवाहक बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् ।
शुक्रबार दिउँसो भएको दुर्घटनामा ग्वादरबाट कराँचीतर्फ गइरहेको तीव्र गतिमा रहेको यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको मिनीबससँग ठोक्किएको प्रहरीले जनाएको छ ।
ठक्करबाट दुवै सवारीसाधन नराम्ररी क्षतिग्रस्त भएका छन् । उद्धार अधिकारीहरूका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य पाँच जनाले अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका थिए ।
स्थानीय एधी उद्धार सेवाका प्रमुख अब्दुल हकिम लासीका अनुसार उद्धारकर्मीहरूले करिब २२ जना घाइतेलाई नजिकैको अस्पताल पुर्याएका छन्। घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमानमा तीव्र गति वा सडकको प्रतिकूल अवस्था दुर्घटनाको कारण हुन सक्ने बताइए पनि आधिकारिक प्रतिवेदन आउन बाँकी छ।