काठमाडौँ, कात्तिक ।
हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने परम्परा अनुसार यस वर्ष पनि भक्तजनको पूजा, आराधना र दर्शनका लागि मन्दिर खुला गरिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको साइतअनुसार तुलजा भवानीलाई असोज ३१ गते शनिबार मूलचोकमा यात्रा गराई स्थिरासनमा राखिएको थियो।
महाअष्टमीको राति ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिएको छ । विजयादशमीका दिन कात्तिक ४ गते बुधबार बिहान १०:५१ बजेको साइतमा यात्रा गराई ११:५२ बजे मूल मन्दिरमा पुनः स्थिरासन गराइने कार्यक्रम रहेको छ।