काठमाडौँ, कात्तिक ।
यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । अर्थात्, टीका लगाइ माग्ने मानिस पश्चिम फर्केर बस्नुपर्नेछ ।
विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सह प्रा. डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ ।
केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ । नेपालमा राष्ट्रिय चाडका रूपमा दसैँ मनाउने गरिन्छ ।
दसैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा,आराधना गरिन्छ ।