काठमाडौँ, कात्तिक।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा देशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रही बाँकी हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्नेछ भने गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।