२०८३, आश्विन ३० गते

शुक्रवार, आश्विन ३० गते २०८३

नवरात्रको पाँचौँ दिन : ' आज स्कन्दमाताको पूजा गरिँदै '

बिहिवार , आश्विन २९, २०८३

 

काठमाडौँ, असोज  ।

बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता भएकाले उनको नाम स्कन्दमाता रहन गएको हो ।

 

देवी स्कन्दमाताको स्वरूप अत्यन्तै ममतामयी र शान्त छ । उनको वाहन सिंह हो । उनका चार वटा हात छन् । दायाँतर्फको माथिल्लो हातमा बालक स्कन्द -कार्तिकेय) लाई काखमा राख्नुभएको छ । 

तल्लो हातमा कमलको फूल छ । बायाँतर्फको माथिल्लो हात वरमुद्रामा छ भने तल्लो हातमा कमलको फूल छ । कमलको आसनमा बस्ने भएकाले उनलाई ‘पद्मासना देवी’ पनि भनिन्छ ।

पौराणिक कथा अनुसार तारकासुर नामको शक्तिशाली राक्षस थियो । उसले ब्रह्माजीको कठोर तपस्या गरी ‘मेरो मृत्यु केवल शिवजीको पुत्रको हातबाट मात्र होस्’ भन्ने वरदान माग्यो । 

तारकासुरलाई थाहा थियो कि सतीदेवीको आत्मदाहपछि शिवजी गहिरो वैराग्य र ध्यानमा लीन हुनुहुन्छ, त्यसैले उहाँको विवाह र पुत्र हुने सम्भावना छैन । वरदान पाएपछि तारकासुर अमरसरह भयो ।

 उसले तिनै लोकमा अत्याचार मच्चाउन थाल्यो । उसले देवतालाई स्वर्गबाट भगाइदियो । पीडित भएका सबै देवता ब्रह्माजी र विष्णु भगवान्को शरणमा गए ।

देवताहरूको प्रार्थना र लोककल्याणका लागि माता पार्वतीले कठोर तपस्या गरी भगवान् शिवसँग पुनः विवाह गरे । शिव र पार्वतीको तेजबाट कुमार कार्तिकेय -स्कन्द) को जन्म भयो । 

बालक स्कन्दलाई युद्धको कला सिकाउन र योग्य बनाउन माता पार्वतीले स्वयम् संहारकारी रूप छाडेर ममतामयी माताको रूपधारण गरे । 

माताको यही ममतामयी रूप स्कन्दमाता कहलियो । पछि स्कन्द -कार्तिकेय) ले देवताका सेनापति बनी तारकासुरको वध गरेर तिनै लोकलाई भयमुक्त बनाए । 

स्कन्दमाताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परमशान्ति -मोक्ष) मिल्ने विश्वास गरिन्छ । 

देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतीले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ । 

स्कन्दमाताको आराधना गर्दा मूर्ख व्यक्ति पनि ज्ञानी बन्छ भन्ने विश्वास छ, किनभने उहाँलाई ज्ञानकी देवी सरस्वतीका रूपमा पनि कतिपय स्थानमा पुजिन्छ । बडादसैँलाई दुर्गापक्ष पनि भनिन्छ । 

बडादसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । 

यी नौ वटा दुर्गाका स्वरूपलाई नवदुर्गा भनिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार