२०८३, आश्विन २७ गते

मंगलवार, आश्विन २७ गते २०८३

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा आराधना गरि मनाइँदै

सोमवार , आश्विन २६, २०८३

 

काठमाडौँ, असोज ।

बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ब्रह्ममा लीन भएकी वा तपस्यामा आचरण गर्ने देवी भन्ने हो ।

उहाँको स्वरूप अत्यन्त शान्त, सौम्य र ज्योतिर्मय छ । शरीरको रङ गोरो र चमकदार छ । उहाँले सेतो वस्त्र (साडी) धारण गर्नुभएको छ, जसलाई पवित्रता र शान्तिको प्रतीक मानिएको छ ।

उहाँले आफ्नो दाहिने हातमा जप गर्नका लागि अक्षमाला -रुद्राक्ष वा स्फटिकको माला) समात्नुभएको छ । यसले निरन्तर साधना र ईश्वर चिन्तनको सन्देश दिएको छ ।

उहाँको देब्रे हातमा कमण्डलु (जलपात्र) हुन्छस जसले ज्ञान र पवित्रतालाई जनाउँछ । ब्रह्मचारिणी देवी कुनै वाहनमा सवार नभई जमिनमा खाली खुट्टा उभिनुभएको वा हिँडिरहेको स्वरूपमा हुनुहुन्छ । यो रूपले कठोर तपस्या गरिरहेको साधकलाई दर्साउँछ ।

देवीको यो स्वरूपले मानिसलाई कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्य र लक्ष्यबाट विचलित नभई धैर्यसाथ अगाडि बढ्ने प्रेरणा दिन्छ ।

पौराणिक कथा अनुसार माता ब्रह्मचारिणीले हिमालयकी पुत्री ९पार्वती० का रूपमा जन्म लिनुभएको थियो । देवर्षि नारदको सल्लाहमा उहाँले भगवान् शिवलाई प्राप्त गर्नका लागि कठोर तपस्या गर्नुभएको थियो ।

उहाँले हजारौँ वर्षसम्म केवल फलफूल र कन्दमूल खाएर तपस्या गर्नुभयो । पछि हजार वर्षसम्म उहाँले केवल सुकेका पात खाएर र कठोर जाडो, गर्मी तथा वर्षा सहँदै तपस्या जारी राख्नुभयो ।

अन्त्यमा उहाँले हजारौँ वर्षसम्म बिनाकुनै अन्न र जल -निर्जल) तपस्या गर्नुभयो । उहाँको यो कठिन तपस्या देखेर सबै देवता, ऋषिमुनिले उहाँको प्रशंसा गरे ।

उहाँको ब्रह्मचारिणी नामकरण भयो ।उहाँको कठोर तपस्याबाट प्रसन्न भएर भगवान् शिवले उहाँलाई पत्नीका रूपमा स्वीकार गर्नुभयो ।

धार्मिक मान्यता अनुसार, माता ब्रह्मचारिणीको पूजा गर्नाले जीवनमा संयम, तप, त्याग र दृढ सङ्कल्पशक्ति प्राप्त हुन्छ । गाेरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार