काठमाडौँ, असोज ।
हालैको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा परेको भारी हिमपातका कारण हुम्ला जिल्लाको मुख्य तथा ग्रामीण सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको छ।
चीनसँगको उत्तरी सीमा जोड्ने रणनीतिक महत्त्वको सिमकोट–हिल्सा सडक, कर्णाली करिडोर तथा जिल्लाका सातवटै गाउँपालिका जोड्ने शाखा सडकहरूमा व्यापक क्षति पुगेपछि समग्र यातायात प्रणाली प्रभावित बनेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काका अनुसार वर्षापछि विभिन्न स्थानमा पहिरो र ठूला ढुङ्गा खसेको तथा बाढीले कल्भर्टलगायतका संरचना बगाएका कारण सडक अवरुद्ध बनेको हो।
सदरमुकाम सिमकोटमा विद्युत् आपूर्तिसमेत ठप्प भएकाले क्षतिको पूर्ण विवरण सङ्कलनमा कठिनाइ भइरहेको छ। कर्णाली करिडोरअन्तर्गत कवाडी–गिउसी सडकखण्ड पन्छाएर सञ्चालनमा ल्याइएको र माथिल्लो खण्ड खुलाउन निरन्तर काम भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, उत्तरी हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेक र वडा नं ६ को लिमी जोड्ने न्यालु लेकमा करिब साढे तीन फिटसम्म हिउँ जमेका कारण ती सडकखण्डहरूसमेत पूर्ण रूपमा बन्द भएका छन्।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार ग्रामीण सडकका ७० भन्दा बढी स्थानमा पहिरो खसेकाले अवरुद्ध बाटो खुलाउन सबै पालिकाहरूसँग आवश्यक समन्वय भइरहेको छ।
जिल्ला प्रशासन कार्यालयमा दैनिक ‘कमान्ड पोस्ट’ को बैठक बसी अवरुद्ध सञ्चालनका लागि काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिएका छन्।
सडक सञ्जाल एकैपटक विच्छेद हुँदा हुम्लामा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी, बिरामीको ओसारपसार र सर्वसाधारणको आवतजावत नराम्ररी प्रभावित भएको छ।