२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

लगातारकाे भारी वर्षा रोकियो : ' बाढी पहिरोको जोखिम भने कायमै '

आइतवार , आश्विन ११, २०८३

 

काठमाडौँ, असोज ।

पछिल्लो केही दिनको लगातार वर्षापछि देशको विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम कायमै रहेको छ । पछिल्लो २४ घण्टामा पाल्पामा २३१, चितवनको माडी कल्याणपुरमा २२२ र मेघौलीमा २०१ मिलिमिटर वर्षा भएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो समय वर्षाको मात्रा घट्दै गएको छ र भोलिदेखि मौसममा थप सुधार आउने पूर्वानुमान गरिएको छ ।

अधिकारीका अनुसार भारी वर्षा भएका क्षेत्रमा नदी तथा खोलाको बहाव बढेको र जमिन कमजोर बनेकाले वर्षा रोकिएपछि पनि बाढी तथा पहिरोको जोखिम तत्काल अन्त्य भएको छैन ।

यसैबिच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवं प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले जोखिमयुक्त नदी किनार तथा पहाडी क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म वर्षाका कारण यो समाचार तयार पार्दासम्म १५ जनाको ज्यान गएको छ । अविरल वर्षाका कारण धादिङका विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक यातायातसमेत प्रभावित भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बिहान ९ बजेसम्म जिल्लाका आठ प्रमुख स्थानमा सडक अवरुद्ध भएको छ ।

बेनिघाट रोराङ र गजुरी क्षेत्रका कृष्णभिर, तिडराङखानी, चालिसे र परेवाभिर लगायत स्थानमा दुवैतर्फको सडक अवरुद्ध छ । केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । यसैगरी, बाढी तथा पहिरोका कारण विद्युत उत्पादन तथा प्रसारण पूर्वाधारमा समेत असर परेको छ ।

कुश्मा न्यू बुटवल २२० केभी प्रसारण लाइनमा प्राविधिक समस्या आएपछि करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ । पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार