२०८३, आश्विन १९ गते

सोमवार, आश्विन १९ गते २०८३

बीपी राजमार्ग चार दिनदेखि बन्द : ' मंगलबारसम्म खुलाउने प्रयास '

सोमवार , आश्विन १२, २०८३

 

काभ्रे, असोज ।

रोशी खोलाको कटान र विभिन्न स्थानमा गएको पहिरोका कारण चार दिनदेखि पूर्णरूपमा बन्द रहेको बीपी राजमार्ग मंगलबार बेलुकासम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा रोशी खोलाले सडक कटान गर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो।

 

राजमार्गको चौकीडाँडा, गुमाउने, गिम्दीबेँसी, चारसयबेँसी र पन्थलीलगायतका स्थानमा रोशी खोलाको कटान तथा पहिरोका कारण सडकमा क्षति पुगेको छ ।

काभ्रे खण्डमा मात्रै रोशी खोलाले करिब ६ स्थानमा सडक कटान गरेको जनाइएको छ। क्षतिग्रस्त सडकखण्डमा सडक डिभिजन कार्यालय भक्तपुर तथा सम्बन्धित निकायबाट मर्मत तथा पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चार स्थानमा एकैपटक मर्मतको काम भइरहेको इन्जिनियर हिमाल काफ्लेले जानकारी दिए।

ट्राफिक प्रहरी सहायक निरीक्षक महेश्वर अधिकारीका अनुसार सडक मर्मतको काम तीव्र रूपमा अघि बढिरहेको र मंगलबार बेलुकासम्म बीपी राजमार्ग सञ्चालनमा ल्याउन सक्ने गरी काम भइरहेको जानकारी दिए ।

बिपि राजमार्ग चल्ने सबै सवारी धुलिखेलमै होल्ड गरिएको अधिकारीले जानकारी दिए काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले मंगलबार बेलुकासम्म राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिए।

सोमबार इन्जिनियरसहितको प्राविधिक टोलीले बीपी राजमार्गको क्षतिग्रस्त विभिन्न स्थानको स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणपछि सडक खुलाउन आवश्यक मर्मत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

बीपी राजमार्ग चार दिनदेखि अवरुद्ध हुँदा काभ्रे हुँदै पूर्वी नेपालतर्फ तथा काठमाडौं आउने- जाने यात्रु तथा सवारी साधन प्रभावित भएका छन्। अन्नपूर्णबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार