२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

गायक सपूत नायकको अभिनयमा

शनिवार , आश्विन ६, २०८०

गण्डकी, असोज ।  अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग हुनुहुन्छ । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना पनि पूरा हुँदैछ । गायकका रुपमा उहाँ जति सफल हुनुहुन्छ, अभिनयमा पनि उसरी नै आफूलाई उतार्न सक्नुहोला त ? यो प्रश्नको जवाफ थाहा पाउन आउँदो २६ गतेसम्म कुर्नुपछ ।

वडा दसैँको छेकोमा फिल्म परदेशी २’ प्रदर्शनमा आउँदैछ । सपूतकै भनाइमा अभिनेताका रुपमा यो उहाँको परीक्षा हो । “ब्राण्ड ब्यानर र सफल फिल्मको सिक्वेल भएकाले पनि मुख्य पात्रका रुपमा मप्रति दर्शकको चासो र अपेक्षा रहनु स्वभाविक हो”, सपूतले भन्नुभयो, “यसलाई मैले धेरै गम्भीर रुपमा लिएको छैन, बरु पहिलोपटक फिल्ममा अभिनय गर्दैछु, हिरो बन्दैछु भन्ने कुराले दङ्ग र उत्साहित छु ।

सफलताको विरासत जोडिएको फिल्म भएकाले त्यसको ओजलाई धान्नुपर्छ भन्ने महसुस आफूलाई भइरहेको उहाँले सुनाउनुभयो । “मैले गायकका रुपमा जुन परिचय बनाएको छु, त्यसको सफलताको भारी कहीँ न कहीँ मेरो फिल्म अभिनयमा पनि जोडिन्छ”, उहाँले भन्नुभयो, “फिल्म चल्ने÷नचल्ने विषय दर्शकको हातमा छ ।

फिल्ममा अभिनय गर्ने सपना ‘परदेशी २’ बाट पूरा हुन लागेकामा सपूतले खुसी व्यक्त गर्नुभयो । “फिल्मको कथा, पात्र र चरित्र निर्वाहका दृष्टिले फिल्मको सिक्वेल मिल्दोजुल्दो हुन सक्छ, तर व्यक्तिगत रुपमा भने मलाई नयाँ फिल्म, नयाँ कथामा अभिनय गर्दैछु भन्ने अनुभूति भइरहेको छ, ठूलो पर्दामा देखिने कुराले यसै फुरुङ्ग छु ।

आठ वर्षअघिको फिल्म ‘परदेशी’ व्यावसायिक रुपमा सफल भएकाले पनि ‘परदेशी २’ माथि हलमा टिक्नैपर्ने दबाब छ । सपूतको अभिनय यात्रामा पनि यो फिल्म सुखद् प्रस्थान बन्न सक्छ या सक्दैन, त्यो अझै पनि समयको गर्तमा छ । म्यूजिक भिडियोको अभिनय र नृत्यमा रुचाइएका उहाँलाई फिल्म फाप्ने हो या होइन यसै भन्न सकिन्न । सपूतले ‘परदेशी २’ को प्रदर्शनपछि अरु फिल्ममा आबद्ध हुने या आफैँले फिल्म बनाउने भन्नेबारे अहिले नै केही खुलाउन चाहानुभएन । उहाँले यसअघि पनि फिल्म निर्माण र निर्देशनमा लाग्ने सङ्केत गर्नुभएको थियो । अहिलेलाई उहाँ देशविदेशका साङ्गीतिक यात्रालाई थाँती राखेर फिल्मको प्रचारमा खटिनुभएको छ ।

‘परदेशी २’ कथामा आधारित नाटक लिएर देशका विभिन्न सहरमा जान लागिएको सपूतले बताउनुभयो । फिल्मको प्रचारात्मक कार्यक्रम लिएर मसहित फिल्मको टिम विभिन्न सहरमा पुग्दैछौँ, म आफैँले पूरै समय फिल्मको प्रवर्द्धनलाई दिएको छु, दर्शकहरु भेटिरहेको छु”, उहाँले भन्नुभयो, दर्शको साथ र प्रतिक्रियाले हामी उत्साहित छौँ, दर्शकमाथ पुग्नुको आनन्द अरु केहीसँग तुलना हुन सक्दैन ।

बिहीबार र शुक्रबार नारायणगढ, आउँदो ७ र ८ गते नेपालगञ्ज, ९ र १० गते बुटवल र ११ र १२ गते पोखरामा फिल्मको कथामा आधारित नाटक मञ्चन हुने जनाइएको छ । फिल्मको प्रचारका क्रममा सपूतले आफ्ना लोकप्रिय गीतसमेत सुनाउने गर्नुभएको छ । नारायण रायमाझी निर्देशित सो फिल्ममा सपूतसँगै केकी अधिकारी, वर्षा सिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलियालगायतको अभिनय छ । रायमाझी र राजेश वंशलको संयुक्त निर्माण रहेको फिल्ममा प्रवासी नेपालीको कथालाई समेटिएको जनाइएको छ ।

 फिल्मको ‘हिजो काम, आज काम, काम विदेशमा’ गीत बुधबार म्यूजिक नेपाल युट्युबाट सार्वजनिक गरिएको थियो । सो गीतमा पनि सपूतको अभिनय देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत चर्चित छन् ।

 सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।  केही दिनअघि भारतीय योगगुरु रामदेवले सपूत नेपालका सलमान, साहरुख र अमिर खानभन्दा ठूला स्टार रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । पतञ्जली योगपीठले नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा आयोजना गरेको विशेष कार्यक्रममा गायक सपूतले प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार