२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

कांग्रेस संस्थापनइतर समूह

१५ औं महाधिवेशन : ' सार्वजनिक गर्यो कार्यतालिका '

सोमवार , भाद्र २९, २०८३

 

काठमाडौं, भदौ ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशन प्रक्रियालाई अघि बढाउने भएको छ।

संस्थापनइतर समूहले सोमबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै संस्थापन पक्ष वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्न खोजेको भन्दै आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशनको प्रक्रियालाई अघि बढाउने जनाएको हो।

 

विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्धत भएको देखिएको कांग्रेस संस्थापन इतर समूहका संयोजक डा शशांक कोइरालाले बताए।

उनले असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहका अधिवेशनहरूमा सक्रिय सहभागिता जनाउन पार्टी कार्यकर्ताहरूलाई अनुरोध गरिएको बताए।

उनले पार्टीको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित रहेको उल्लेख गर्दै उनले आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन अपील समेत गरे।

उनले विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्र बनाउन सकिने धारणा राखे।

१५औं महाधिवेशनले पार्टी र देशको राजनीतिक भविष्यको दिशा तय गर्ने भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

कोइरालाले कुनै पक्ष असन्तुष्ट वा अलग्गिएको भए पनि समाधानको एउटै उपाय वार्ता रहेको र संवादमार्फत मूलधारमा ल्याएर एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए।

केवल अर्को पक्षको तर्क सुनेर नपुग्ने भन्दै उनले आफूहरूले पनि वार्ता र एकताका लागि बारम्बार आग्रह गरेको तर गगन थापा तथा विश्वप्रकाश शर्माहरूले सुनुवाइ नगरेको आरोप लगाए।

पार्टीको लाइन र भविष्यलाई सुरक्षित पार्नु आफ्नो काँधको ठूलो जिम्मेवारी रहेको कोइरालाले बताए।

सभापति शेरबहादुर देउवाले गगन थापालाई भेट्न समय नदिएकोबारे सोधिएको प्रश्नमा उनले सभापतिको व्यस्तताका कारण हुनसक्ने तर भेट्नै नचाहेको भन्ने कुरा सत्य नहुने धारणा राखे।पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु अहिलेको आवश्यकता रहेको संस्थापनइतर समूहको निष्कर्ष छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार