२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

नेपालको प्राकृतिक वातावरण

बिदेशी चलचित्रको छायाङ्कनस्थल बन्दै : 'चालु आवमा ४५ चलचित्र बने'

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

शनिवार , जेठ २७, २०८०


काठमाडौँ, जेठ । केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ । अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । 

विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो ।  भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो ।

त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेखि पोखरासम्म छायाङ्कन गरे । 

नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताए । “विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उनीहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, संयोजक रेग्मीले भने । 

उहाँसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन् ।

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ । 

व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भईरहेको छ ।  “मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ । यहाँ २० दिन छायाङ्कन गर्ने उनीहरुको योजना छ । यसले नेपालको पर्यटन प्रवद्र्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ”, उनले भने । 

सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताए ।   

“विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ”, पाण्डेले भने । 

चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायाङ्कन भएका छन् । पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा  २४३ को हाराहारीमा चलचित्र, वेभ शृङ्खला र वृत्तचित्र छायाङ्कन गरिएका छन् । 

उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार