काठमाडौँ, बैशाख । अहिले प्रविधिमय जीवनमा कसैलाई केही भन्नु छ वा सन्देश पु¥याउनु सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र आजदेखि प्रदर्शनमा आएको छ ।
कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । उनले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताए ।
“हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गरे । सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौँ”, उनले भने, “हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ ।”
हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरिएको सो चलचित्रमा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ । निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन । उक्त चलचित्रमा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन ।
चलचित्रमा शीर्षभूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन । हुलाकीलाई बाल्यकालमा देखिएका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो ।