२०८३, मंसिर ९ गते

मंगलवार, मंसिर ९ गते २०८३

अन्नपूर्णमा तीव्र गतिको चिसो हावाहुरी : ' जनजीवन प्रभावित '

मंगलवार , मंसिर ९, २०८३

 

म्याग्दी, मंसिर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार बिहान तीव्र गतिको चिसो हावाहुरी चल्दा जनजीवन प्रभावित भएको छ ।

गाउँपालिकाको विभिन्न बस्तीमा चलेको हावाहुरीले चार घरको छानो उडाउनुका साथै रुख ढालेर सडक अवरुद्ध बनाएको छ । हावाहुरीका कारण जनजीवन प्रभावित भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा हावाहुरीले जनजीवन प्रभावित भएको पालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताइन ।

उनका अनुसार हावाहुरीका कारण अन्नपूर्ण गाउँपालिका -६ काभ्रेमा तीन र नारच्याङमा एक घरको छानो उडाएको छ । रुख ढलेर भुरुङ तातोपानीदेखि मान्द्रढुंगा जोड्ने सडकसमेत अवरुद्ध भएको छ ।

विभिन्न बस्तीमा विद्युत् सेवा पनि अवरुद्ध भएको पालिका उपाध्यक्ष तिलिजाले जानकारी दिएका छन । नारच्याङका स्थानीय वासी तेज गुरुङका अनुसार राति करिब ३ बजेदेखि सुरु भएको हावाहुरीको वेग निकै तीव्र रहेको थियो ।

अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा सदस्य दुर्गादत्त सुवेदीले हावाहुरीका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको बताए ।

तीव्र हावाले कालीगण्डकी करिडोरको कच्ची सडक तथा नदी किनारको बगरबाट धुलो उडाउँदा आसपासका बस्ती धुलाम्मे भएका छन् । हावाहुरीका कारण बोटमा पाकेका सुन्तलासमेत झरेर क्षति पुगेको छ ।

सामान्यतया फागुनदेखि वैशाखसम्म चल्ने मुस्ताङी उत्तरी हावाहुरी यस वर्ष मंसिरमै सुरु भएको हो । मुस्ताङ र आसपासको हिमाली क्षेत्रमा तापक्रम घटेपछि उत्पन्न हुने चिसो हावा कालीगण्डकी नदीले बनाएको अन्नपूर्ण र धौलागिरि हिमालबिचको गहिरो गल्छी हुँदै दक्षिणतर्फ बहने गर्छ ।

साँघुरो गल्छीबाट तीव्र गतिमा तल झर्ने हावाका कारण दाना, नारच्याङलगायत क्षेत्रमा बढी प्रभाव पर्ने गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रमको असन्तुलन बढ्दै जाँदा उत्तरी हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीय गुरुङले बताए ।

बेमौसममा चल्ने यस्ता हावाहुरीले कृषि बाली, सुन्तला खेती, विद्युत् प्रसारण लाइन तथा दैनिक जनजीवनमा असर गर्दैआएको छ । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार