२०८३, कार्तिक १० गते

सोमवार, कार्तिक १० गते २०८३

रसुवा भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, ३२ हजारभन्दा बढी प्रभावित

सोमवार , कार्तिक १०, २०८३

रसुवा,कात्तिक । भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

राष्ट्रिय योजना आयोगको सर्वेक्षणअनुसार बाढीबाट चार जिल्लाका छ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका छन्। बाढीबाट ३२ हजार ८७२ जना प्रभावित भएका छन् भने दुई हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ नौ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ। जिल्लागत रूपमा सबैभन्दा बढी नुवाकोटमा तीन हजार ८४१ घरपरिवार प्रभावित भएका छन्। रसुवामा एक हजार ९२०, धादिङमा ९४८ र गोरखामा १०८ घरपरिवार प्रभावित भएका छन्।

जग्गामा सबैभन्दा बढी क्षति

बाढीबाट सबैभन्दा ठूलो आर्थिक क्षति जग्गाजमिनमा पुगेको छ। तीन हजार ६१० परिवारको ५०७.९७ हेक्टर जग्गामा क्षति पुगेको र त्यसको प्रारम्भिक मूल्याङ्कन ३५ अर्ब ४४ करोड रुपैयाँ गरिएको छ। घरको घडेरीमा १३ अर्ब २६ करोड र घर निर्माण लागततर्फ ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

बाढीबाट क्षतिग्रस्त चार हजार १५१ भवन संरचनामध्ये दुई हजार ९८९ आवासीय संरचना पूर्ण रूपमा नष्ट भएका छन्। कुल क्षतिग्रस्त संरचनामध्ये तीन हजार १९४ पुनःप्रयोग गर्न नसकिने अवस्थामा छन्।

त्यस्तै, ३३२ संरचना पूर्ण मर्मतपछि, ३२० सामान्य मर्मतपछि र ९७ संरचना मर्मत नगरी प्रयोग गर्न सकिने अवस्थामा रहेको सर्वेक्षणमा उल्लेख छ।

खेतीबाली, पशुपन्छी र सवारीसाधनमा क्षति

बाढीले कृषि उत्पादन र जीविकोपार्जनमा समेत असर पारेको छ। खेतबारीमा लगाइएको बालीमा २३ करोड २१ लाख रुपैयाँ बराबरको क्षति हुँदा दुई हजार ९५१ परिवार प्रभावित भएका छन्। भण्डारमा रहेको खाद्यान्नमा १० करोड ४१ लाख र पशुपन्छी तथा माछामा २१ करोड ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। खाद्यान्नमा क्षति पुग्दा एक हजार ८७६ र पशुपन्छी तथा माछामा क्षति पुग्दा एक हजार ११ परिवार प्रभावित भएका छन्। परिवारले प्रयोग गर्ने सवारीसाधनमा एक अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसबाट एक हजार ११५ परिवार प्रभावित भएका छन्।

त्यस्तै, बहुमूल्य, सांस्कृतिक तथा पुरातात्त्विक वस्तुमा पाँच अर्ब दुई करोड, टिकाउ प्रकृतिका घरायसी सामग्रीमा एक अर्ब ४५ करोड र टिकाउ नहुने घरायसी सामग्रीमा ६६ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। व्यापार तथा खाद्य सेवा क्षेत्र बढी प्रभावित बाढीबाट व्यवसाय तथा प्रतिष्ठानतर्फ थोक तथा खुद्रा व्यापार क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। यस क्षेत्रका ७७४ प्रतिष्ठान प्रभावित भएका छन्। आवास तथा खाद्य सेवा क्षेत्रका ३३७, कृषि, वन तथा मत्स्यपालन क्षेत्रका १६६ र अन्य सेवा क्षेत्रका १३६ प्रतिष्ठानमा असर परेको छ।

औद्योगिक उत्पादन क्षेत्रका ७०, निर्माण क्षेत्रका ४७ तथा यातायात र भण्डारण क्षेत्रका ३१ प्रतिष्ठान प्रभावित भएका छन्। वित्तीय सेवा, खानी तथा उत्खनन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रका प्रतिष्ठानमा पनि क्षति पुगेको छ। जिल्लागत विवरणअनुसार नुवाकोटमा ३२३, धादिङमा १०४, रसुवामा ५७ र गोरखामा १५ व्यवसाय तथा प्रतिष्ठान प्रभावित भएका छन्।

तर जिल्लागत विवरणमा प्रभावित प्रतिष्ठानको कुल सङ्ख्या ४९९ देखिए पनि क्षेत्रगत विवरणमा एक हजार ६३८ उल्लेख छ। एक हजार ५२९ परिवार सरकारी पुनःस्थापनाको पक्षमा बाढीपछि स्थायी रूपमा कहाँ बसोवास गर्ने भन्ने विषयमा तीन हजार ६७ परिवारको रोजाइ सर्वेक्षणमा समेटिएको छ। तीमध्ये ७९७ परिवार अर्थात् २५.९९ प्रतिशतले बाढीअघि बसोवास गरिरहेको स्थानमै फर्कन चाहेका छन्।

जिल्लाभित्रै आफ्नै स्वामित्वको अन्य स्थानमा बस्न चाहने परिवार ५६५ र देशभित्रकै अन्य स्थानमा रहेको आफ्नै जग्गामा बस्न चाहने परिवार १५९ छन्। सरकारले उपलब्ध गराउने स्थानमा बस्न चाहने ९३९ परिवार अर्थात् ३०.६२ प्रतिशत छन् भने सरकारले उपलब्ध गराउने सामूहिक आवासमा बस्न चाहने ५९० परिवार अर्थात् १९.२४ प्रतिशत छन्।

यसरी सरकारले उपलब्ध गराउने स्थान वा सामूहिक आवासमा बस्न चाहने परिवारको सङ्ख्या एक हजार ५२९ पुगेको छ। राष्ट्रिय योजना आयोगले अनलाइन एप र ट्याब्लेट प्रयोग गरी चार जिल्ला र १५ स्थानीय तहमा सर्वेक्षण गरेको जनाएको छ। सर्वेक्षणका लागि ५८ टोली र १५६ जनशक्ति परिचालन गरिएको थियो। आयोगका अनुसार सात हजार ३१६ घरपरिवार, व्यवसाय तथा प्रतिष्ठानको विवरण सङ्कलन गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार