काठमाडौं, असोज ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतन्त्रको केन्द्रमा मान्छेको मूल्य हुनुपर्ने बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रस्तुत प्रतिवेदनमा उनले निर्वाचनमा प्राप्त हुने मान्छेको भोट भन्दा नागरिकको जीवन र मानवीय मूल्यलाई प्रधान मान्नुपर्ने उल्लेख गरेका हुन्।
शर्माले लोकतान्त्रिक संस्कृतिमा मान्छेको मूल्य अनमोल हुने भन्दै अस्थायी भोटका लागि स्थायी रूपमा मानिसको अवमूल्यन गर्नु कुनै पनि दृष्टिले जायज नहुने बताएका छन्।
प्रतिवेदनमा उनले भनेका छन्, लोकतान्त्रिक संस्कृतिमा मान्छेको मूल्य अनमोल हुन्छ र यो निर्वाचनमा पाइने मान्छेको भोटभन्दा प्रधान हुन्छ।
उनले लोकतन्त्रलाई केवल निर्वाचन हुने र निर्वाचनबाट सरकारको नेतृत्व चयन हुने प्रक्रियाका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।
लोकतान्त्रिक संस्कृतिमा नागरिकको आवाज सुनिने र त्यसको सुनुवाइ हुने अवस्था पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ छ।
शर्माले परम्परागत रूपमा लोकतन्त्रलाई बोल्ने अधिकारका रूपमा बुझिए पनि अहिले नागरिकले बोलेको सुनियो कि सुनिएन र सुनुवाइ भयो कि भएन भन्ने आधारमा लोकतन्त्रको परीक्षण हुने बताएका छन्।
प्रतिवेदनमा उनले फागुन २१ पछि बनेको सरकारले सुकुम्बासी व्यवस्थापनका क्रममा मानवीय संवेदनशीलता ख्याल नगरेको भन्दै त्यसलाई मान्छेको मूल्यसँग जोडेर प्रश्न उठाएका छन्।
बालबालिका, वृद्धवृद्धा र सुत्केरीसमेतलाई मध्यवर्षामा उठिबास लगाइएको उल्लेख गर्दै उनले बसोबास कानुनी नहुन सक्ने भए पनि ती मानिसको जीवन अवैधानिक नभएको बताएका छन्।
शर्माले लोकतान्त्रिक संस्कृतिको क्षय रोक्न राजनीति र शासन सञ्चालनमा नागरिकको सम्मान तथा संवेदनशीलतालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्।
प्रतिवेदनको अन्त्यमा उनले कांग्रेसले चुनाव जित्ने तयारीलाई दोस्रो प्राथमिकतामा राखेर नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृतिलाई पहिलो स्थानमा राखेको उल्लेख गरेका छन्।