काठमाडौं, असोज ।
नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५ महाधिवेशन अन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान पारित गरेको हो।
प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै दिएको जानकारी अनुसार संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने छ।
जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापति चार जना रहने छन्। उपसभापतिमा एक जना महिला अनिवार्य गरिएको छ।
त्यस्तै महामन्त्री ३ जना रहने छन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ त्यस्तै सहमहामन्त्रीमा १५ जना रहने छन्। कोषाध्यक्ष केन्दूीय सदस्य मध्येबाट एक जना हुनेछन्।
प्रवक्ता एक जना हुनेछन् भने सहप्रवक्ता पनि हुनेछन्। केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन्। महिला खुलामा १५ जना हुनेछन्। हरेक प्रदेशबाट एक महिलासहित चार जना हुनेछन्।
साथै उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ। त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन्। जनजातितर्फ ८ महिलासहित २० जना हुनेछन् भने खस आर्यबार्ट ८ महिलासहित १८ जना हुनेछन्।
मधेसीतर्फ पाँच महिलासहित १३ जना हुनेछन्। त्यस्तै जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना हुनेछन्। पिछडिएको बर्गबाट ३ जना हुनेछन्।
थारूबाट २ महिलासहित ६ जना रहेका छन्। श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना रहेका छन्। साथै सातै प्रदेशबाट २१ जना ३५ वर्ष मुनिका युवा रहने छन्।
त्यस्तै अपाङ्गता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना हुनेछन्। केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनित गर्नेछ।
सोमबार विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्द सत्रलेमात्र पारित गर्नेछ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान भने सोमबारै पारित गरिएको हो।