आज सोच्दै छु — के यो समाजमा कुनै नेपाली चेलीले सानो “भुती” पाउन आत्महत्या नै गर्नुपर्ने हो ?
गायिका नितु पौडेल को निधनले हाम्रा हृदय हल्लिएका छन् । उहाँको आत्महत्यापछि सामाजिक सञ्जाल भरिएका छन् – भावनात्मक स्टाटस, सहानुभूति, आँसु, अनि “न्याय चाहिन्छ” भन्ने ह्याशट्यागहरूले ।
तर अचम्म लाग्छ —
यही समाजले हिजो समिक्षा अधिकारी र एलिना चौहान लाई कस्तो व्यवहार गरेको थियो ?
जब उनीहरूले “हामीमाथि अन्याय भयो, हिंसा भयो, हामी बस्न सक्दैनौं” भनेका थिए,
त्यतिबेला ती नै फेसबुकका न्यायाधीशहरूले हेला गरे,
उनीहरूको पीडा होइन, पोशाक र बोलीको अर्थ निकाल्न थाले,
“पब्लिसिटी स्टन्ट” भनेर गाली गरे,
“महिलाले नै गलत गर्छिन्” भनेर निष्कर्ष निकालिदिए ।
तर आज, जब नितु पौडेल बोल्न सक्दिनन्,
त्यही समाज अचानक संवेदनशील बनेको छ ।
शायद हामी बिर्सिन्छौं —
जिन्दा आवाजलाई सुन्नु जिम्मेवारी हो,
मरेपछि भुती देखाउनु समाधान होइन ।
महिला र पुरुषबीचको सम्बन्धमा “सहमति” भन्ने कुरा गहिरो हुन्छ ।
यदि कसैले प्रेम वा विवाहको आश्वासन दिएर, भावनात्मक रूपमा नजिकिएर,
त्यो वाचा तोड्छ, अनि अर्को पक्ष मानसिक रूपमा टुट्छ —
त्यो पनि हिंसा नै हो,
किनभने यो शरीरको होइन, आत्माको शोषण हो ।
हाम्रो समाज अझै पनि महिलाको चरित्रलाई तोल्ने,
उनको आवाजलाई कमजोर ठान्ने,
र जब उनी बोल्छिन्, उनको ‘मनोबल’ होइन, ‘चरित्र’मा प्रश्न उठाउने गर्छ ।
त्यसैले धेरै चेलीहरू बोल्न डराउँछन्,
र अन्ततः केहीले —
बोल्ने साटो मौन रहन, जिउँदै रहनुको साटो मर्न रोज्छन् ।
तर के यो समाधान हो ?
नितु पौडेलको आत्मा शान्त होस् — तर
हामीले बिर्सनु हुँदैन, हरेक आत्महत्याले एउटा प्रश्न सोधिरहेको हुन्छः
“के यो समाज बोल्नेहरूलाई जिउन दिन्न ?”
अब समय आएको छ —
हामीले सामाजिक सञ्जालमा मात्र होइन, सोचमा परिवर्तन ल्याउनुपर्छ ।
हामीले अरूको पीडा बुझ्ने मात्र होइन,
उनीहरू बाँचुन्जेल सुन्ने र उनीहरूका शब्दलाई न्याय दिने संस्कार सिक्नुपर्छ ।
कुनै पनि चेलीले आत्महत्यालाई आफ्नो अन्तिम सहारा नठानून् —
किनभने समाजको साँचो परिवर्तन त्यतिबेला हुनेछ,
जब कुनै नितु, समिक्षा वा एलिनालाई
मर्नु होइन, बोल्नु सुरक्षित लाग्ने देश हुनेछ ।
- फेसबुकबाट