काठमाडौँ, पुस । यूरोपका विभिन्न देशहरुमा बसोबास गर्दे आएका नेपाली बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यले स्थापित प्रतिभा नक्षत्रले अब नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाली भेषभूषा, भाषा, साहित्य,संस्कृतिलगायतका विभिन्न क्षेत्रको प्रर्वद्धन,पहिचान र पुस्तान्तरणको लागि स्थापित बेलायतमा रहेको प्रतिभा नक्षत्रले नेपालमा पनि आफ्नो शाखा स्थापना गरेर प्रतिभा नक्षत्र नेपाल च्याप्टर गठन गरेको हो ।
हरेक वर्ष बेलायतमा आयोजना हुने कार्यक्रम प्रतिभा नक्षत्रमा बेलायत र यूरोपका विभिन्न देशहरुबाट बालबालिकाको उत्साहजनक सहभागिता रहँदैआएको छ ।

नेपाली गीत, संगित,नृत्य,कला, साहित्य,संस्कृति, विभिन्न जातजातीको भेषभूषा, पहिरन, हरनसहन र जीवनशैलीको पहिचान हुने उक्त कार्यक्रमले विदेशी भूमिमा रहेर पनि नेपाली संस्कार र संस्कृतिको संरक्षण र प्रर्वद्धनमा ठूलो योगदान पुयाउँदै आएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिभा नक्षत्रका परिकल्पनाकार तथा कार्यक्रम संयोजक राजेन्द्र खसले प्रतिभा नक्षत्र कार्यक्रम अब बेलायत तथा यूरोपका विभिन्न देशमा रहेका नेपाली बालबलिकाको लागि मात्र नभएर नेपालमा पनि विभिन्न कार्यक्रम गर्ने उद्येश्यले नेपाल शाखा स्थापना गरिएको जानकारी दिए ।
वर्ष सन २०१७ मा बेलायतमा स्थापित प्रतिभा नक्षत्र अहिले सातौं संस्करणमा पुगेको छ । हरेक वर्ष बेलायतमा बृहत रुपमा आयोजना हुने कार्यक्रम प्रतिभा नक्षत्र नेपाली बालबालिकको लागि मात्र नभएर सबै उमेर समूहका लागि ज्ञान, सीप,भाषा,कला र संस्कृतिको पहिचान झल्काउने माध्यम बनेको छ ।
यहाँ देखाइने विभिन्न जातजातीक झाकीहरु, लाखे नृत्यहरु, हस्तकलालगायत विभिन्न खालका प्रतियोगिताहरु वाद्यवादन, कला तथा नृत्यहरुको कलात्मक संयोजनले हरेक वर्ष प्रतिभा नक्षत्रले बेलायतमा सानो नेपालको संझना गराइरहेको छ ।
प्रतिभा नक्षत्रको नेपाल शाखा स्थापना गर्नुको मुख्य उद्येश्य नै नेपाली पहिचान र मौलीक संस्कृतिको श्रीबृद्धी गर्दे यसको संरक्षण र जर्गेना गर्नु रहेको संस्थापकको भनाई छ ।