२०८३, मंसिर १३ गते

शनिवार, मंसिर १३ गते २०८३

१०औं राष्ट्रिय खेलकुद : बागमतीको अग्रता कायमै

शुक्रवार , मंसिर १२, २०८३

 

काठमाडौं, मंसिर ।

१०औं राष्ट्रिय खेलकुद अन्तर्गतको २३औं राष्ट्रिय पौडी प्रतियोगितामा बागमतीले आफ्नो अग्रतालाई कायमै राखेको छ। बागमतीले १२ स्वर्ण, सात रजत र सात कांस्य पदकसहित आफ्नो अग्रता कायमै राखेको हो।

दोस्रो स्थानमा रहेको एनआरएनएले नौ स्वर्ण, तीन रजत र तीन कांस्य तथा तेस्रो स्थानमा रहेको त्रिभुवन आर्मीक्लबले ६ स्वर्ण, १० रजत र १३ कांस्य जितेको छ।

चार स्वर्ण, ११ रजत र १२ कांस्यसहित नेपाल पुलिस क्लब चौथो तथा दुई स्वर्णसहित कोशी प्रदेश पाँचौ स्थानमा छ। नेपालगन्ज रंगशालाको पौडी पोखरीमा आयोजित प्रतियोगिताको तेस्रो दिन पनि राष्ट्रिय कीर्तिमान भंग हुने क्रम जारी नै रह्यो।

महिला १५०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन्। उनले सो दूरी १८ मिनेट ४.१५ सेकेन्डमा पूरा गरिन्।

यसअघि यो कीर्तिमान डुवाना लामाको नाममा १९ मिनेट ६.२३ सेकेन्डको थियो। पुुलिसकी देवांशी जोशीले रजत र आर्मीकी सिसम्बुन राईले कांस्य पाए।

यसैगरी पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले सन् २०२५ मा काठमाडौंमा आयोजना भएको दोस्रो एक्वाटिक्स च्याम्पियनसिपमा राखेको ५९.५४ सेकेन्डको समयलाई सुधार गर्दै बागमतीका अभिभ प्रधानले ५८.२२ सेकेन्ड समयको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण जितेका छन्।

नेपाल पुलिसका इरभिन श्रेष्ठले पनि ५९.०४ सेकेन्ड समयका साथ सुब्बाको कीर्तिमानलाई पछि पारे पनि रजतमा खुम्चिए। आर्मीका सौर्यनबहादुर सिंहले कांस्य पदक पाए।

कोशीका विकास कुमालले २०० मिटर ब्रेस्टस्ट्रोकमा आफ्नै नाममा रहेको समयमा सुधार गदै २ मिनेट ३४.३६ सेकेन्डको नयाँ कीर्तिमान बनाए। यसअघि कुमालले ११औं एनएसए पौडी प्रतियोगितामा २ मिनेट ३४.७४ सेकेन्ड समयको कीर्तिमान कायम गरेका थिए।

यस विधामा सुदूरपश्चिमका अथर्व सिंहले रजत र आर्मीका जेडेन श्रेष्ठले कांस्य जिते। यसैगरी, पुरुष ५० मिटर ब्याकस्ट्रोक र ४ गुणा २०० सय मिटर फ्रिस्टायलमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ।

५० मिटर ब्याकस्ट्रोकमा बागमतीका अभिभ प्रधानले २०२६ मा काठमाडौंमा आयोजना भएको तेस्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा जेडेन श्रेष्ठले राखेको २९.७० सेकेन्डको समयलाई विस्थापित गर्दै हिट चरणमा २८.९९ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए।

अभिभले यो कीर्तिमानमा सुधार गर्दै फाइनलमा २८.९५ सेकेन्डको नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण हात पारे। आर्मीका जाडेन श्रेष्ठले रजत र बागमतीका रेवन्तबहादुर श्रेष्ठले कांस्य जिते।

यसैगरी ४ गुणा १०० मिटर फ्रिस्टायलमा बागमतीका रेवन्तबहादुर श्रेष्ठ, एरिक कर्माचार्य, वशिष्ठराज शाही र अभिभ प्रधानको टिमले ३ मिनेट ४५.७५ सेकेन्ड समयको नयाँ कीर्तिमानसहित स्वर्ण जिते।

यसअघि यस विधामा अभिभ प्रधान, जेडेन श्रेष्ठ, रेवन्तबहादुर श्रेष्ठ, र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७.७३ सेकेन्ड समयको कीर्तिमान थियो।

उनीहरूले सन् २०२५ मा अहमदाबादमा भएको ११औं एक्वाटिक्स च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै कीर्तिमान राखेका थिए। यस विधामा नेपाल पुलिसले रजत हात पार्दा आर्मी कांस्यमा खुम्चियो।

पुरुषको ४०० मिटर फ्रिस्टायलमा नेपाल पुलिसका कल्किन श्रेष्ठले ४ मिनेट २०.११ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा पुलिसकै मायोन श्रेष्ठले रजत पाए। सुदूरपश्चिमका अथर्व सिंह कांस्यमा खुम्चिए।

महिलाको दुई सय मिटर ब्यक्तिगत मिड्लेमा एनआरएनकी लिली बोहराले २ मिनेट ३३.६७ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। आर्मीकी डुवाना लामाले रजत र एनआरएनकी मिखाकाया थापाले कांस्य जिते।

यसैगरी, महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा आर्मीकी डुवाना लामाले २ मिनेट ४९.३४ सेकेन्ड समयका साथ स्वर्ण जितिन्। एनआरएनकी लिली बोहरा रजत र आर्मीकी रीतिका भूमि कांस्यमा खुम्चिए।

महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएनकी मिखाकाया थापाले स्वर्ण जितिन्। उनले ३३.२७ सेकेन्डको समय खर्चिन्। बागमतीकी आर्या महर्जनले रजत र पुलिसकी देवांशी जोशीले कांस्य जिते।

महिलाको ४ गुणा २०० मिटर फ्रिस्टायलमा आर्मीले स्वर्ण जित्यो। आर्मीका लुना श्रेष्ठ, रैजा अवाले, सिशोम्बुन राई र डुवाना लामाले उक्त दूरी ९ मिनेट ५८.७३ सेकेन्डमा पूरा गरेका थिए।

बागमतीले रजत र पुलिसले कांस्य जित्यो। पुरुषको ४ गुणा ५० मिटर मिड्ले रिलेमा आर्मीले १ मिनेट ५६.०८ सेकेन्ड समय खर्चदै स्वर्ण जित्यो।

आर्मीको टिममा जाडेन श्रेष्ठ, आरभ अग्रवाल, अशिम भण्डारी र अल्भिन महर्जन थिए। बागमतीले रजत र नेपाल पुलिसले कांस्य जित्यो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार