२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

नेपाल - भारत सीमा व्यवस्थापन

संयुक्त कार्यदल बैठक : " के-के भए सीमा सहमति ? "

'सीमाका संवेदनशील स्थानमा सीसीटिभीलगायत आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढाउने '

शनिवार , भाद्र ६, २०८३

 

काठमाडौं, भदाै ।

नेपाल र भारतबीच सीमाका संवेदनशील स्थानमा सीसीटिभी लगायत आधुनिक प्रविधि प्रयोग गरेर सुरक्षा निगरानी बढाउने सहमति भएको छ।

नेपाल - भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको शुक्रबार भारतको देहरादुनमा सम्पन्न १४ औं बैठकमा दशगजा क्षेत्रको अतिक्रमण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग लगायतका विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले भनेको छ, सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा आधुनिक तथा नवीनतम प्रविधि (सीसीटीभीलगायत आधुनिक उपकरण) प्रयोगबाट सुरक्षा निगरानी बढाउन दुबै पक्षबीच सहमति भयो।

बैठकमा सन् २०२५ को मार्चमा नेपालको पोखरामा सम्पन्न १३ औं बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै सीमापार अपराध, लागुऔषध, मनोद्वीपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोटसहितका आर्थिक अपराध, हातहतियार तथा खरखजाना लगायतका गैरकानूनी गतिविधि नियन्त्रण गर्न दुवै राष्ट्रका सम्बद्ध निकायहरूबीच प्रभावकारी समन्वय र तत्काल सूचना आदानप्रदानलाई सुदृढ बनाउने विषयमा छलफल केन्द्रित भएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयका अनुसार नेपाली पक्षले साइबर अपराध र सीमापार डिजिटल ठगी लगायतका उदीयमान सुरक्षा चुनौतीका विषयहरू उठाएको थियो ।

11.jpg
undefined

बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनाधिकृत प्रयोगमा नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग,एवम् पारस्परिक कानुनी सहायता लगायतका महत्त्वपूर्ण सीमा व्यवस्थापनका विषयहरूमा समेत छलफल भएको छ।

बैठकमा दुबै देशका नागरिकहरूको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतको सीमा नाका हुँदै आवागमन गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण र निगरानी संयन्त्रलाई सुदृढ पार्ने, विपद् व्यवस्थापन र नेपाल-भारत जिल्लास्तरीय समन्वय बैठकहरूलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ।

विज्ञप्तिमा बैठकको नेतृत्व नेपालबाट गृहमन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतका तर्फबाट गृहमन्त्रालयका संयुक्त सचिव पौसुमी वासुले गरेको उल्लेख छ। कार्यदलको १५ औं बैठक दुबै पक्षको अनुकुल मितिमा नेपालमा हुने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार