२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

पत्रकार पराजुलीको उपन्यास ' बखान ' प्रकाशोन्मुख

सोमवार , श्रावण १२, २०८२

 

चितवन, साउन । तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन पुगे ।

तनहुँको पुलिमराङमा जन्मिएर चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखानसिंहको जीवन यात्रालाई उपन्यासमा समेटिएको छ । चितवनको ऐतिहासिक पृष्ठभूमिलाई समेटेर उठान हुने उपन्यास बखान पत्रकार वसन्त पराजुलीले लेखेका हुन । शिखा बुक्सद्वारा सो उपन्यास प्रकाशन हुन लागेको हो ।

शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले यही साउन अन्तिममा बखान उपन्यास बजारमा आउने जानकारी दिए । उनले भने, ' हामी प्रकाशनको अन्तिम तयारीमा छौँ ।'

साउन अन्तिमसम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ । विसं २०१३ मा सहकारी संस्था स्थापना गरेका बखानसिंह र उहाँको परिवारमाथि त्यतिबेला राज्यपक्षबाट भएका ज्यादती, बखानसिंहले गरेका सङ्घर्षलाई उपन्यासमा समेट्ने प्रयास गरिएको छ ।

लेखक पराजुलीले चितवनमा बस्ती विकास गरेको विषयसँगै तत्कालीन राजा महेन्द्रको निधन, चितवन राष्ट्रिय निकुञ्जमा सिकार गरेको इतिहासलाई पनि उपन्यासमा मुख्य विषयवस्तु बनाइएको जानकारी दिए ।

मायाप्रेम, राजनीतिक उतार चढाव, सामाजिक परम्परा, गुरूङ समुदायमा प्रचलित रोदी परम्परा, बसाइँसराइ लगायतका विषयलाई लेखकले औपन्यासिक रुप दिएका छन । कतै न कतैबाट बखानसिंहको जीवन सङ्घर्ष उपन्यासको रुपमा पाठकले पढ्न पाउने उनको भनाइ छ ।

उनीहरु मलेरियासँग कसरी जोगिएर चितवन बचाए भन्ने कुरा पनि उपन्यासमा पढ्न पाइन्छ । यसका अलवा उपन्यासमा चितवनका आदिवासी थारुको संस्कृति, वेषभूषाका बारेमासमेत चर्चा उपन्यासमा गरिएको छ ।

कुमाता . मोम्चो, ' ड्रिमि आइज' जस्ता कथासङ्ग्रह मार्फत पाठक माझ पहिचान बनाएका पत्रकार पराजुली नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष छन । पराजुलीको उन्यासिक आख्यान बखान पहिलो हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार