२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

वायु प्रदूषण समस्या

श्वासप्रश्वास बिज्ञ भन्छन : अहिलेको अवस्था अत्यन्तै नराम्रो - ' जोगिन सुझाव '

आइतवार , चैत्र २३, २०८१

 

चितवन, चैत । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ ।

वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल अधिकारी श्वासप्रश्वासका बिरामीका लागि अहिलेको अवस्था अत्यन्तै नराम्रो भएको बताउँछन । अहिले देखिएको प्रदूषणले तत्कालीन रूपमा खोकी र श्वास फेर्ने समस्याबाहेक दीर्घकालीन रूपमा फोक्सोमा खत बस्ने तथा रोग प्रतिरोधी क्षमता कमजोर बनाउने जोखिम रहेको उहाँको भनाइ छ ।

उनको भनाइमा कोभिडले फोक्सोमा असर गरेका बिरामीलाई यो प्रदूषणले सामान्य अवस्थाभन्दा बढी जोखिममा हुने गर्छ । चितवन मेडिकल कलेजमा कार्यरत अधिकारीलभ भने, 'अस्पतालमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढिरहेको छ, नियमित औषधि सेवन गर्नेलाई यस्तै अवस्था रहिरहे औषधिको मात्रा थप्नुपर्ने अवस्था आउँछ ।'

विशेषगरी बालबालिका, वृद्धवृद्धामा मुटु र मिर्गौलाका रोगीलाई यो प्रदूषणबाट जोगाउनुपर्नेमा चिकित्सकको जोड छ । बालबालिकाको रोगसँग लड्ने क्षमता पूर्ण विकसित नहुने भएकाले उनीहरू बाहिर खेल्दा धुलोको सम्पर्कमा आउँदा दम र श्वासप्रश्वासका समस्या बढ्नसक्ने अधिकारीको भनाइ छ ।

वायु प्रदूषणका कारण धुलोका कण र रसायनसहितको हावा हाम्रो फोक्सोमा पुग्ने बताउँदै उनले भने, ' हाम्रो शरीरको प्रतिरक्षात्मक प्रणालीले केही हदसम्म फिल्टर गर्छ, तर बाँकी प्रदूषण फोक्सोको भित्री भागसम्म पुगेर खोकी, श्वास फेर्न गाह्रो हुने र दीर्घकालीन असरहरू निम्त्याउँछ ।

हाल अस्पतालमा आउने बिरामीमध्ये धेरैलाई खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र कतिपयको खकारमा कालो तथा फोहर मिसिएको जस्तो देखिने गरेको छ । पहिलेदेखि श्वासप्रश्वासको समस्या भएकाहरूलाई यो प्रदूषणले झन बढी प्रभावित बनाएको उनले बताए । अहिलेको अवस्थामा बिहानको व्यायाम र बाहिरी गतिविधि कम गर्न आवश्यक रहेको उनले सुझाव दिए ।

उनले भने, 'बजार क्षेत्रमा ताजा हावा लिने अवस्था छैन, बाहिर निस्कँदा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ, तर साना धुलाका कण मास्कले पनि पूर्ण रूपमा रोक्न सक्दैन । श्वासप्रश्वाससम्बन्धी समस्या भएकाहरु घरमा नै बस्दा उत्तम हुने उनको भनाइ छ । खानपिनको सफाइमा पनि ध्यान दिनुपर्ने उनले सुझाव दिए ।

भरतपुर आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले पछिल्ला दिनमा आँखाका बिरामीको सङ्ख्या बढ्दै गएको बताए । अहिलेको वायु प्रदूषणका कारण आँखा पोल्ने, आँसु आउने, आँखा खोल्नै कठिन हुनेजस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको बताए ।

अहिलेको प्रदूषणले बालबालिकामा बढी असर पारेको उनको भनाइ छ । उनले भने, ' बालबालिकामा आँखा रातो हुने, चिलाउनेजस्ता समस्या आएको पाइएको छ । बालबालिका बाहिर खेल्न जाँदा बढी समस्या आउने गरेको भन्दै उनले बालबालिकालाई बाहिर खेल्न नदिनसमेत सुझाव दिए ।

आँखा पोल्यो भनेर पानीले आँखा भिजाउन नहुने उनको सुझाव छ ।बाहिर हिँड्दा चस्माको प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बिहानमा बाहिर नहिँड्न पनि उनले आग्रह गरे । भरतपुर अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ डा किरण देवकोटा बालबालिकामा अहिलेको प्रदूषित वायुले असर गरेको बताउँछन ।

पहिलेको तुलनामा अहिले अस्पतालमा आउने बालबालिकाको सङ्ख्या बढेको बताउँदै उनले यो अवस्थामा बालबालिकालाई बाहिर निस्कन नदिन सुझाव दिए ।

प्रदूषित वायुका कारण बालबालिकामा श्वाशप्रश्वासको समस्या बढी देखिएको उनले बताए। उनले भने, बच्चामा रुघाको जस्तै लक्ष्यण देखिने तर छातीमा धेरै असर नगरेको भए पनि घाँटीमा र श्वास नलीमा असर गरेको छ । श्वासनलीको माथिल्लो भागमा असर गरेर यही बढ्दै गएर निमोनिया हुने गरेको उनले बताए ।

अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा अधिकांश बालबालिका बाहिर खेल्न रुचाउने भन्दै उनले घरभित्रै राख्न र प्रदूषणबाट जोगाउन सुझाव दिएका छन । रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार