काठमाडौँ, कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका काम गर्न आह्वान गरेका छन् ।
अजरबैजानको बाकु सहरमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले बुधबार आयोजित ‘माउण्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड ड्यामेज इन द हिमालय’ (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन) शीर्षकको उच्चस्तरीय राउन्ड टेबल बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आह्वान गरे ।
‘पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनारमाथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु,’ उनले भने ।
उनले मुख्यगरी कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए ।
‘बढीभन्दा बढी जलवायु वित्तको व्यवस्थापन गर्न २९ औं जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ,’ उनले भने ।
जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनु पर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो ।
उनले भने,‘जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउँमा राखेर छलफल गर्दा समस्याबारेमा बुझ्न र समाधान गर्न पनि सहज हुने हाम्रो विश्वास हो ।’
सबैलाई आ–आफ्नो समस्या ठूलो लाग्नु स्वाभाविकै हो, तर पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौती निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताए ।
‘तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शून्य नै थियो,’ उनले भने ।
यस्तै विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्बभन्दा बढीको हानी नोक्सानी भएको जानकारी उनले बताए ।
यस प्रकारको हानिनोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उनको भनाइ थियो ।
उनले भने,‘भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो,’ उनले भने ।
साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकोले हानिनोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नयाँ समष्टिगत संख्यात्मक लक्ष्यमा हानिनोक्सानीसमेत समेट्न विशेष आह्वान गरे ।