काठमाडौँ, कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।
जलवायु सम्बन्धी शिखर सम्मेलन यस पटक अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि २२ (कात्तिक २६ देखि मंसिर ७) सम्म हुँदैछ ।
उक्त भ्रमणको विषयमा राष्ट्रपति कार्यालय, वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले गृहकार्य गरिसकेको छ र अब मन्त्रिपरिषद्बाट निर्णय हुन मात्र बाँकी रहेको छ ।
उक्त टोलीमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी लगायतको सहभागीता रहनेछ । गतवर्ष यूएईको दुबईमा कोप– २८ भएको थियो ।
उक्त अवसरमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।
राष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि नै पौडेलले जलवायु क्षेत्रको विषयमा लगातार अन्तरिक र बाह्य रुपमा नेपालमा यसबाट परेको असर र पाउनुपर्ने क्षतिपूर्तिको बारेमा कुरा उठाउँदै आइरहेका छन् ।
‘यसपटकको कोपमा नेपालको तर्फबाट विश्व मञ्चमा जलवायु परिवर्तन र यसले नेपाललाई पारेको असर र पाउनुपर्ने क्षतिपूर्तिका बारेमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने गरी गृहकार्य भएको हो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
अजरबैजान राष्ट्रपति पौडेलको कार्यकाल सम्हालेपछिको दोस्रो पटक विदेश भ्रमण हुनेछ ।
यसअघि उनले जेठ–असारमा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन स्वीट्जरल्यान्ड र त्यसपछि जर्मनीको भ्रमण गरेका थिए ।
स्वीट्जरल्यान्ड र जर्मनीमा राष्ट्रपति पौडेलले जलवायु सम्बन्धी एजेन्डालाई बलियोसँग उठाएका थिए ।
नेपालले पछिल्ला केहि वर्षयता अन्तर्राष्ट्रिय फोरममा जलवायु परिर्वतनका बारेमा प्रष्ट रुपमा आफ्नो धारणा राख्दै आइहरेको छ ।
गत असोज महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाको उच्चस्तरीय छलफललाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालमा पारेको असर यसको क्षतिपूर्तिको बारेमा जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन पृथ्वी, मानिस र सम्बृद्धिको लागि सबैभन्दा ठूलो खतराका रूपमा देखा परेको उल्लेख गरेका थिए ।
उनले जलवायु परिवर्तनबाट आफ्नै मुलुक नेपाल बढी प्रभावित भएको विश्व समुदायलाई जानकारी दिएका थिए ।
उनले भनेका थिए, ‘हामी जलवायु परिवर्तनको लागि सबैभन्दा कमजोर राष्ट्रहरूमध्ये एकको रूपमा खडा छौँ र विश्वको २० औँ सबैभन्दा प्रकोपको जोखिममा पारेको देशको रूपमा सूचीकृत गर्छौं ।’
प्रधानमन्त्री ओलीले हिमालयले हिउँको भण्डारण गरेको जनाउँदै त्यसले नेपालको सिमानाभन्दा पर तलसम्म फैलिएको अर्बौं मानिसहरूका लागि पानी उपलब्ध गराएको बताएका थिए ।