विराटनगर, असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन । प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।
प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए । विश्वासको मत प्रक्रियामा दुई प्रदेश सभा सदस्य तटस्थ रहनुभएको र बाँकी अनुपस्थित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ ।
कोशी प्रदेशसभामा नेकपा (एमाले) का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सदस्य छन् ।
गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए । रासस