काठमाडौं, भदौ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन्। आइतबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामा घोषणा गरेका हुन्।
विश्वासको मत पेस गर्ने क्रममा उनले राजीनामा दिएको घोषणा गरेका हुन्। सरकार आफूसँगै रहेका दलहरूले छाडेर गएपछि मुख्यमन्त्रीको कुर्सीमा बस्न उपयुक्त लागेर मार्ग प्रशस्त गर्ने निर्णय लिएको उनले बताए।
उनले विभिन्न आन्दोलन तथा शान्ति प्रक्रिया हुँदै सँगै यात्रा गरेका सहयात्री दलहरूले पार्टी नेतृत्वको निर्णयका कारण साथ छोड्नुपरेको र त्यसले आफूलाई दुःख लागेको बताए।
उनले सहयात्रीहरूले समर्थन फिर्ता लिएपछि विश्वासमा संकट पैदा भएको र त्यस्तो अवस्थामा मुख्यमन्त्रीको कुर्सीमा बसिरहन उपयुक्त नहुने उल्लेख गरे।
विश्वासको मत लिनुको सट्टा छोडेर जाने दलहरूलाई मिलेर नयाँ सरकार बनाउन वा अगाडि बढ्नका लागि मार्ग प्रशस्त गरिदिएको उनले बताए।
सो क्रममा मुख्यमन्त्री बानियाँले आफ्नो कार्यकालमा भएका काम कारबाहीका बारेमा जानकारी गराएका थिए।
एमालेले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका थिए। तर, आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि उनले राजीनामा दिएका हुन्।