२०८३, मंसिर ३ गते

बुधवार, मंसिर ३ गते २०८३

प्रधानमन्त्रीको भारत भ्रमण बहस

बिज्ञहरू भन्छन : ' डिजिटल कनेक्टिभिटीका मुद्दा उठाउनुपर्छ '

मंगलवार , मंसिर २, २०८३

 

काठमाडौं, मंसिर ।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विद्यमान चुनौती समाधान गर्दै विकास, पूर्वाधार, प्रविधि र क्षेत्रीय सहकार्यका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा उपयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (नाइस नेपाल) र सेन्टर फर पिस स्टडिज -सीपीएस) को संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा सहभागी विज्ञहरूले प्रधानमन्त्रीको भारत भ्रमणलाई द्विपक्षीय सम्बन्धको नयाँ आधार तयार गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

छलफलमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिइएको छ।

साथै, लामो समयदेखि थाती रहेका सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क र गैरभन्सार अवरोधजस्ता विषयलाई पनि उच्च राजनीतिक तहमा उठाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरिया, सीपीएसका आजीवन सदस्य तथा दिल्ली विश्वविद्यालयका डा. निहार नायक, प्रविधि उद्यमी शिक्षित भट्ट र नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापा वक्ताका रूपमा सहभागी थिए।

सीपीएसका अध्यक्ष डा। बेहुरियाले नेपाल–भारत सम्बन्धलाई परम्परागत राज्यकेन्द्रित र सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताए। 

जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार नगरेसम्म सम्बन्धले अपेक्षित गति लिन नसक्ने उनको भनाइ छ।

डा. बेहुरियाले औपनिवेशिक विरासतबाट बाहिर निस्किएर छिमेकी मुलुकसँगको सम्बन्धलाई थप समावेशी र पारस्परिक हितमा आधारित बनाउने प्रयास भइरहेको बताए। 

उनले गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणा स्मरण गराउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको छिमेक नीतिमा देखिएको परिवर्तनबारे पनि चर्चा गरे।

क्षेत्रीय स्थायित्व र विकासका लागि छिमेकी मुलुकसँगको विश्वासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान र जनस्तरको सम्बन्धका आधारमा अघि बढाउनुपर्ने धारणा राखे।

दिल्ली विश्वविद्यालयका डा. निहार नायकले प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। भ्रमणका क्रममा नेपालले आफ्ना विकासका प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ। 

उनले विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी र विपद् व्यवस्थापनका क्षेत्रमा नेपाल र भारतबीच सहकार्य विस्तारको पर्याप्त सम्भावना रहेको बताए।

तर, सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता पुराना समस्याले सम्बन्धलाई अपेक्षित रूपमा अघि बढ्न नदिएको उनको भनाइ छ।

प्रधानमन्त्रीको भारत भ्रमणले यस्ता विषयमा राजनीतिक तहमा संवाद अघि बढाउने, आपसी विश्वास अभिवृद्धि गर्ने र दुवै देशका लागि लाभदायक सहकार्यको वातावरण निर्माण गर्ने अवसर प्रदान गर्न सक्ने उनले बताए। 

प्रविधि उद्यमी भट्टले बदलिँदो विश्व व्यवस्थामा प्रविधि पनि अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पक्ष बनिरहेको बताए।

सेमिकन्डक्टर आपूर्ति शृंखला र कृत्रिम बौद्धिकता जस्ता महत्वपूर्ण प्रविधिमा सीमित पहुँच तथा नियन्त्रणका कारण नेपाल र भारत दुवै जोखिममा रहेको उनको भनाइ छ।

नले कृत्रिम बौद्धिकता, साइबर सुरक्षा र डिजिटल पूर्वाधारका क्षेत्रमा दुई देशबीच सहकार्य बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार