२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रहरी भन्छ 

प्राकृतिक प्रकोपजन्य विपद्‌  :   ' जेठ २९ यता  २०३ जनाको मृत्यु, ५४ बेपत्ता '

आइतवार , भाद्र ९, २०८१

 

काठमाडौँ, भदौ । प्राकृतिक प्रकोपजन्य विपद्‌बाट पछिल्लो साढे दुई महिनामा २ सयभन्दा बढीको ज्यान गएको छ । वर्षको मनसुन सुरु भएयता गत जेठ २८ देखि आइतबारसम्म बाढी, पहिरो, डुवानलगायत प्रकोपमा परी २ सय ३ जनाको मृत्यु भएको हो । अरु २५१ जना घाइते भएका छन् ।

यो अवधिमा कोशीमा ३ जना, बागमतीमा ४५, गण्डकीमा २, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा एकरएक जना गरी कूल ५४ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी आइतबार दिउँसोसम्म भएको मानवीय क्षतिको संख्या २ सय ३ जना रहेको प्रहरी प्रधान कार्यालयले जनाको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २८ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा ४२ जना, गण्डकीमा ५६ जना, लुम्बिनीमा ३७ जना, कर्णालीमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १६ जनाले ज्यान गुमाएका हुन् ।

मनसुनजन्य बिपद्‌बाट काठमाडौं उपत्यकामा ११ जना, कोशीमा ३८ जना, मधेशमा १२ जना, बागमतीमा २८ जना, गण्डकीमा ४७ जना, लुम्बिनीमा १९ जना, कर्णालीमा ६२ जना र सुदूरपश्‍चिम प्रदेशमा ३४ जना गरी कूल २५१ जना घाइते भएका छन् । प्रकोपमा फसेका २१० जनालाई उद्धार गरिएको पनि प्रहरीले जनाएको छ ।

बाढीबाट यो अवधिमा ४ सय ८ घर डुबानमा परेका छन् । ३६४ वटा घर, १२३ वटा गोठ, ५२ वटा पुल, ६ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । 

९२४ वटा पशु चौपाया मनसुनजन्य प्रकोपमा परी मरेका छन् । विपद्‍का घटनाबाट ६ हजार ४४ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार