काठमाडौँ, साउन । यस वर्षको मनसुनको दुई महिनामा जनधनको क्षति गत वर्षको तुलनामा दोब्बर भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको तुलनात्मक विश्लेषण अनुसार दुई महिनामा गत वर्षभन्दा यस वर्ष दोब्बर जनधनको क्षति भएको छ ।
मनसुनजन्य विपत्का घटना पनि गत वर्षभन्दा बढी भएका छन् । मनसुन भित्रिएयताको ६० दिनमा मनसुनजन्य विपत्बाट १७३ जना मानिसको मृत्यु भएको छ ।
अझै ४४ जना बेपत्ता छन् भने अन्य १९५ जना घाइते भएका छन् । मृत्यु र बेपत्ताको सङ्ख्यामा चितवनको सिमलतालमा भेलपहिरोले बगाएर त्रिशूली नदीमा दुई वटा बस हराउँदा सबैभन्दा बढी क्षति भएको छ ।
जसमा ६२ जना यात्रुमध्ये २४ जनाको शव फेला परेको छ भने ३८ जना बेपत्ता छन् । विपत्बाट झन्डै तीन हजार परिवार प्रत्यक्ष प्रभावित बन्न पुगेको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले औँल्याएको छ ।
यस अवधिमा बाढीपहिरोसहित ८४८ वटा विपत्का घटना घटेका छन् । गत वर्ष मनसुनको दुई महिनामा ५३० वटा विपत्का घटनामा ७२ जनाको मृत्यु भएको थियो । ती घटनामा २८ जना बेपत्ता हुनुका साथै एक सय जना घाइते भएका थिए ।
प्रभावित परिवारको सङ्ख्या भने यो वर्षभन्दा गत वर्ष बढी देखिएको छ । जस अनुसार पाँच हजार ७८१ परिवार प्रभावित बनेको प्राधिकरणका दीपक सापकोटाले जानकारी दिनुभयो ।
गत वर्षसँग तुलना गर्दा दुई महिनाको अवधिको जनधनको क्षति उच्च भए पनि वर्षाको घनत्व र प्राधिकरणले गरेको आकलनको तुलनामा भने क्षति कम भएको दाबी प्राधिकरणले गरेको छ ।
प्राधिकरणका अनुसार, “गत वर्ष सरदरभन्दा कम पानी प¥यो, त्यसैले यो वर्षभन्दा कम क्षति देखियो तर यो मनसुनको दुई महिनामा गत वर्षको तुलनामा वर्षाको घनत्व ज्यादा भएकाले बढी क्षति भएको हो ।”
मनसुनबाट हुन सक्ने उच्च क्षति रोक्न सरकार र विपत्मा काम गर्ने निकायको पूर्वतयारी राम्रो भएकाले हालसम्मको क्षतिलाई कम ।
गतवर्ष यस अवधिमा ५४१ मिलिमिटर वर्षा भएको थियो । यस वर्ष ६२४ मिलिमिटर वर्षा भइसकेको छ । जसको परिणाम स्वरूप सिमलतालमा बस बगाउने घटना भएको थियो ।
जाजरकोटका भूकम्प पीडितको बस्ती सारिनु, जिल्लास्थित विपत् व्यवस्थापनलाई सक्रिय बनाइएकाले पनि पहिरोजन्य क्षति धेरै कम भएको बताईएको छ ।
मनसुनको दुई महिनाको अवधिमा सबैभन्दा बढी पहिरोबाट १०९ जनाको मृत्यु भएको छ । त्यसपछि बाढीबाट ३६ जनाको र चट्याङबाट २४ जना र भारी वर्षाले एक जनाको मृत्यु भएको छ ।
मनसुनजन्य विपत्बाहेक दुई महिनाको अवधिमा आगलागी, हावाहुरी, जनावरको आक्रमण, वन डढेलो, लेक लागेर र सर्पदंशबाट थप १९ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।