काठमाडौँ, साउन । बिगत केही दिनदेखिको निरन्तर अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मा परी बुधबार दिउँसोसम्म १६७ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीका अनुसार, बाढी, पहिरोलगायत विपद्मापरी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जनागरी जम्मा एक सय ६७ जनाको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ गरी १९९ जना घाइते भएको जानकारी दिईएको छ ।
बाढी, पहिरामापरी काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनागरी जम्मा ११० जनाको उद्धार गरिएको छ ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार, “बाढी र पहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जनागरी ५० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।”
बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले २६८ वटा घर, एक सय वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढी पहिरोले बुधबार दिउँसोसम्म ७६३ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार २७२ घरपरिवार विस्थापित भएका छन ।