काठमाडौँ, साउन । यसवर्षको मनसुनमा बाढी पहिरो लगायत विपद्का घटनामा परी आइतबारसम्म १५३ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परेर चार हजार दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
नेपाल प्रहरीका अनुसार गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी आइतबार दिउँसोसम्म १५३ जनाको मृत्यु भएको हो ।
मनसुनी विपद्मा परेर काठमाडौं उपत्यकामा ३ जनाको मृत्यु भएको छ भने कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना र गण्डकी प्रदेशमा ४३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विपद्मा परेर काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घाइते भएका छन् । घाइतेहरुको उपचार चलिरहेको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १०८ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २६१ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ४ हजार २३८ घर परिवार विस्थापित भएका छन् ।