काठमाडौँ, असार । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा पहिरो जाँदा एक घर पुरिँएको छ । आज राती गउको सो पहिरोमा परी एकै घरका पाँच जनाको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले गुल्मीको मालिका गाउँपालिका ६, अर्जैका भेषबहादुर कामीको घर पहिरोले पुरिएको हो । घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ।
सो पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता विक, ८ वर्षीया नातिनी सपना विक र ८ महिनाकी नातिनी बिपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा पुरिएकालाई स्थानीयसहित सुरक्षा निकायको टोली उद्धार कार्यमा खटेको जनाइएको छ ।