२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्व वातावरण दिवस कार्यक्रम

 " जलवायु परिवर्तनसँग जुध्न विश्वको साझा मत जरुरी छ "

बुधवार , जेठ २३, २०८१


काठमाडौँ, जेठ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्नका लागि साझा प्रतिबद्धतासहितको व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताएका छन ।  

विश्व वातावरण दिवसको अवसरमा आज यहाँ आयोजित ‘फोहर व्यवस्थापन र जलवायु सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन गरी स्वच्छ वातावरण निर्माणमा जुट्नुपर्नेमा जोड दिए ।

 जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न पनि स्वच्छ वातावरण जरुरी रहेको छ”, उनले बताए । 

पानी, हावा र जलवायुको कुनै सीमा नहुने भएकाले जलवायु परिवर्तनसँग जुध्नका लागि विश्वको साझा मत जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ ।

 गरिब, महिला, सीमान्तकृत वर्ग जलवायुजन्य समस्याबाट सबैभन्दा बढी जोखिममा परेको स्पष्ट पार्दै उनले नेपाल जलवायु परिवर्तनको बढी जोखिममा परेको देश भएकाले पनि समयमै थप सचेत हुन जरुरी रहेको बताए ।   

जलवायु परिवर्तनको प्रभाव कृषि, खाद्य, मानव स्वास्थ्य, ऊर्जा, खानेपानीमा परेको र जीविकोपार्जनसमेत जटिल बन्दै गएको जानकारी दिँदै अध्यक्ष दाहालले बाढी पहिरोलगायत समस्याबाट मुक्त हुन नेपालको अधिकारको रुपमा रहेको जलवायु कोषबाट बढीभन्दा बढी सहयोग ल्याउनुपर्ने उल्लेख गरे । 

वातावरणमैत्री विकासको प्रक्रिया अवलम्बन गरी अगाडि बढ्नुको विकल्प नभएको उनको धारणा थियो । फोहर व्यवस्थापनका लागि आधुनिक तरिकाको प्रशोधन गरी थप सहजीकरण गर्नुपर्ने बताए । 

जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु कोषबाट नेपालले सहज रुपमा राहत रकम पाउनुपर्ने उनले उल्लेख गरे । हरियाली प्रवद्र्धन गर्दै वातावरण संरक्षणमा विशेष ध्यान दिन उनले सरकारको ध्यानाकर्षण गराए ।  

पूर्व वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले जलवायु परिवर्तनबाट परेको प्रभावलाई न्यूनीकरण गर्न आम नेपालीको सहयोग जरुरी रहेको बताए ।  

उनले जलवायु परिवर्तनको प्रभाव आमरुपमा देखिन थालेको उल्लेख गर्दै जलवायु परिवर्तनको नाममा गरिने अनावश्यक खर्च नियन्त्रण गरेर वास्तविक क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिए ।   

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल र भारतका जलवायु र फोहर व्यवस्थापनमा संलग्न विज्ञहरुको सहभागिता रहेको छ । 

सो अवसरमा जलवायु परिवर्तनबारे जानकारी दिलाउने उद्देश्यका साथ प्रकाशित ‘एबिसी फर क्लाइमेट’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार